छविराज ढकाल,
पथरी शनिश्चरे।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को शुक्रबारे र मंगलबारेमा पर्ने डाँस खोलामा स्थानीय नागरिकहरूले स्थानीय सरकार नगरपालिका र वडा कार्यालयको सहयोगमा हिउँदे अस्थायी पुल निर्माण गरेका छन्।
हरेक वर्ष वर्षयाममा आवतजावतम समस्या झेल्दै आएका उनीहरुले हिउँद भर पुस माघ फागुन चैत वैशाख र जेठका लागि मात्रै भए पनि अस्थायी पुल निर्माण गरेका हुन्।
वडा र नगरपालिकाको जेसीबी डोजर र ट्याक्टर, स्थानीयहरुको बाँस र श्रम मिलाएर हिउँदे पुल निर्माण भएको वडा अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिनुभयो। हरेक वर्ष यातायात सहजका लागि उक्त स्थानमा अस्थायी हिउँदे पुल निर्माण हुँदै आइरहेको छ। बर्खायामसँगै भत्काउने र बिगार्ने समस्या झेल्दै आएका स्थानीयहरूले यो वर्ष पनि ती स्थानमा गरेका छन्।
यस अघि पटक–पटक डेलिकेसन र माग पत्र बुझाउँदा पनि प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको वडावासीहरुको गुनासो गर्दै आएका स्थानीयहरूले यो पुल निर्माणपछि हिउँदमा कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका तल्लो भेगका जनतालाई केही महिनाका लागि मात्रै भएपनि आवत जावत गर्न सहज हुने वडाध्यक्ष कार्कीले बताउनुभयो।
यता, शुक्रबारेस्थित अस्थायी पुल निर्माणका क्रममा पथरी शनिश्चरेका श्रमदाताहरुले पनि उपस्थिति जनाएका थिए ।





























