अर्जुनधारा ।

गुरुङ समुदायको नयाँ वर्ष तमू ल्होसारलाई लक्षित गरि झापाको बिर्तामोड नगरपालिका–३स्थित डोमालाल राजवंशी रंगशालामा वृहत शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तमू समाज जिल्ला कार्यसमिति झापाको आयोजना र तमू समाज बिर्तामोड नगर समितिसँगै तमू समाज माता मन्दिर अर्जुनधारा नगर इकाईको संयुक्त आयोजनामा समाज झापाका अध्यक्ष जगत गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु रीवाज गुरुङ, राजु गुरुङ र प्रशान्त गुरुङसँगै स्थानीय कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा गुरुङ समुदायसँग सम्बन्धित सांस्कृतिक घर ‘रोदी घर’ र परम्परागत सामग्रीहरुको प्रदर्शनीसँगै मौलिक खानेकुराका स्टलहरु सञ्चालन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा मौलिक खेलको रुपमा रहेको छेलो हान्ने र डोरी तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । सोही कार्यक्रममा गुरुङ समुदायका विद्यार्थीहरुमध्ये उत्कृष्ट जीपीए प्राप्त गरि कक्षा–१२ उत्तीर्ण गर्न सफल बिर्तामोड नगरपालिका–१की सन्ध्या गुरुङ (३.८१) र दमक नगरपालिका–५का प्रतिक गुरुङ(३.४२)लाई नगद पुरस्कार र सम्मान पत्रसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सँग्रौला, अर्जुनधारा–३का वडाध्यक्ष मदन बुढाथोकी, समाजका पूर्व कोशी प्रदेश अध्यक्ष लक्ष्मी गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए । समाजका बिर्तामोड अध्यक्ष कुमार गुरुङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समाज झापाका महासचिव राम गुरुङ र समाज बिर्तामोडकी सचिव ममता तमुस्योले गरेकी थिए ।































