योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा लागू औषध गाँजाको ओसार पसार गर्नेको संख्या बढेसँगै प्रहरीलाई चुनौती थपिएको छ। मोरङ प्रहरीले हवाई फायर गरेर ३३० किलोग्राम लागूऔषध गाँजा २ जना भारतीय नगरिकलाई पक्राउ गरेको छ। जहदा गाउँपालिका-२ स्थितबाट ३३० किलोग्राम लागू औषध गाँजा सहित भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गरेको हो।
ओसारपसार भइरहेको सूचना पाएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले गाँजाको बोरा बोकेर भारत तर्फ जाँदै गरेका हसन र खानलाई रोक्न खोज्दा बोरा फ्याकेर भागे पछि उनीहरुलाई नियन्त्रणमा लिने क्रममा १ राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
लागू औषध गाँजा सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यस्तै,सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पाँचथर हिलीहाङ गाउँपालिका-७ का विशाल योक्पाङदेन र धरान-१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी,इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको हो । लागू औषध सहित पक्राउ परेका उनीहरुको पनि थप अनुसन्धान भईरहेको छ भने प्रतिबन्धित औषधी कारोबारमा संलग्नहरुको खोजिकार्य भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। यस्तै,उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का राम बहादुर राईलाई पक्राउ गरेको जनाएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ।
प्रदेश प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप,भारतीय गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।






























