बिर्तामोडमा १६औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

0
29

बिर्तामोड । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आजदेखि प्रतियोगिता प्रारम्भ भएको हो।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले पानसमा दीप प्रज्वलन गरी रनिङ शिल्ड अनावरण गर्दै प्रतियोगिताको उद्घाटन गरिन्। नगरपालिकाको शिक्षा शाखाका अनुसार प्रतियोगितामा ३८ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी छन्।

भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, उसु, तेक्वान्दो, कराते लगायत विभिन्न खेल विधा समावेश छन्। उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रसाईँले विद्यार्थीहरूको खेलकुद विकासका लागि यस्ता प्रतियोगिता प्रभावकारी हुने बताइन्। विभिन्न विद्यालयबीचको प्रतिस्पर्धाले तयारी र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको भनाइ थियो।

नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले आगामी दिनमा शतप्रतिशत विद्यालयको सहभागिता सुनिश्चित गरिने बताए। उनले यस वर्षदेखि नगरपालिकाले रनिङ शिल्डको व्यवस्था गरेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, नगर कार्यपालिका सदस्य तिला गौतम, वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायत शिक्षक तथा सरोकारवालाको उपस्थिति थियो। रनिङ शिल्ड लगातार तीन वर्ष जितेपछि मात्र स्थायी रूपमा प्रदान गरिने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here