मेचीनगर ।

प्रत्येक रातको समयमा आउँने हात्तीले स्थानीयको भौतिक पुर्वाधार घर, ग्वालीमा क्षति पुर्याउँदा स्थानीयवासी आतङ्कित बन्दै आएका छन् । गयराती जंगली हात्तीले झापाको मेचीनगर–१४ प्रगतिटोलस्थित मनोज भट्टराईको घर भत्काउँदा चार लाख बढीको क्षति भएको छ ।
हात्तीले ट्रष्ट लगाएको घरको पाँच वटा वाल भत्काएको छ भने त्यहाँ बस्दै आएका प्रकाश कटुवालको भान्सा घर र सामाग्री पुर्ण रुपमा क्षति पुर्याएको छ । मध्यराति आएको दार्हे हात्तीले घरको बाल भत्काएको थियो । घरको चारैपट्टीको बाल भत्काएर सामाग्री नष्ट गर्दा ४ लाख २० हजार मूल्य बराबरको क्षति भएको मनोज भट्टराईले जानकारी दिए ।

उनका अनुसार ट्रष्ट लगाएको पाँचवटा पर्खाल, २ वटा झ्याल र २ वटा ढोका भत्काउँदा करिब तीन लाख बराबरको क्षति पुगेको छ भने त्यहाँ वस्दै आएका कटुवालको भान्सा घर, त्यहाँ प्रयोग गरिदै आएको सामाग्री र रासन पुर्ण रुपमा क्षति गर्दा एक लाख २० हजार मूल्य बराबरको धनमाल क्षति भएको हो । ब्याज मराउनी लगानीमा चारवर्ष यता कटुवाल परिवार उक्त घरमा बस्दै आएका थिए । क्षतिको बिवरण र राहतका लागि प्रहरी समक्ष निवेदन दिएको पीडित भट्टराईले जानकारी दिए ।





























