फिक्कल । अंग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसर पारेर पूर्वको चर्चित पर्यटकीय गन्तव्य कन्याममा ‘सूर्योदय फुड एण्ड कल्चरल फेस्टिवल’ आयोजना हुने भएको छ । पुस १५ देखि १९ गतेसम्म (३० डिसेम्बरदेखि ३ जनवरी) चार दिन चल्ने फेस्टिवलमा स्थानीय रैथाने परिकार र सांस्कृतिक कार्यक्रमलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।
पर्यटन प्रवर्धन उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा २५ वटा स्थानीय खाद्य परिकारका स्टल, संस्कृति झल्कने प्रदर्शनी तथा कोरियन कल्चरसम्बन्धी स्टल रहने सूर्योदय नगरपालिकाका आर्किटेक्ट इन्जिनियर सृजन गदालले जानकारी दिए । फेस्टिवलमा चिजका परिकारलाई विशेष आकर्षणका रूपमा राखिनेछ ।
स्थानीय रूपमा उत्पादन भएका दूधजन्य परिकार, तरुलका परिकार, कोदो र फापरबाट बनेका परिकार, वाचिपा, फूल नासरीलगायतका सामग्री फेस्टिवलका प्रमुख आकर्षण रहने आयोजकको भनाइ छ ।
कन्याम पर्यटन व्यवसायी संघको मुख्य आयोजनामा हुन लागेको फेस्टिवलमा सूर्योदय नगरपालिका, हिमालयन चिज उत्पादक संघ र आदिवासी जनजाति समन्वय परिषद् सूर्योदय नगर समितिको सहकार्य रहनेछ । करिब चार लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको फेस्टिवलका लागि स्टल, स्टेज र स्वागत गेट निर्माणको काम तीव्र रूपमा भइरहेको संघका अध्यक्ष डिबी तामाङ ग्यावकले बताए ।
फेस्टिवलमा स्वदेशी पर्यटकसँगै छिमेकी देश भारत र कोरियाबाट आउने पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ । अंग्रेजी नयाँ वर्षको समयमा कन्याममा हरेक वर्ष स्वदेशी तथा भारतीय पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईका अनुसार फेस्टिवलले स्थानीय पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेछ । छिमेकी देश भारतमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा ठूलो संख्यामा भारतीय पर्यटक कन्याम आउने भएकाले त्यस अवसरलाई लक्षित गरी फेस्टिवल आयोजना गरिएको उनको भनाइ छ ।































