मेचीनगरमा पाँच महिनामा ४६ नयाँ क्षयरोगी

0
22

मेचीनगर । मेचीनगर नगरपालिकामा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।

क्षयरोगमुक्त पालिका घोषणा अभियानअन्तर्गत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। स्वास्थ्य शाखाका अनुसार २०८१/८२ मा नगरपालिकाभर २१० जना क्षयरोगी पहिचान गरिएको थियो। तीमध्ये ९४ प्रतिशत निको भएका छन् भने ६ प्रतिशत अर्थात ६ जनाको अन्य घातक रोगसँगै मृत्यु भएको छ।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार मृत्यु भएका ६ जनामध्ये वडा नम्बर ८ का १, १५ का २, ११ का १ र १२ का २ जना रहेका छन्। ती सबै क्यान्सरलगायत अन्य गम्भीर रोगबाट पनि पीडित थिए।

गोष्ठीमा जोखिमयुक्त क्षेत्रको पहिचान, सक्रिय खोज अभियान र अति विपन्न क्षयरोगीलाई लक्षित पोसिलो खानेकुरा वितरणलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो। शाखाका अनुसार प्रत्येक क्षयरोगीलाई वार्षिक रूपमा पोसिलो खानेकुरा प्याकेज उपलब्ध गराइँदै आएको छ। उक्त प्याकेजमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक किलो बदाम, एक किलो मिक्स सातु र एक किलो मुसुरी दाल समावेश छ।

अघिल्लो वर्ष २२१ जना क्षयरोगीलाई यस्तो प्याकेज वितरण गरिएको शाखाले जनाएको छ। पहिचान भएका बिरामीलाई नियमित निगरानीमा राखी उपचार र फलोअपसमेत गरिँदै आएको सापकोटाले बताइन्।

यसअघि २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना क्षयरोगी भेटिएका थिए। पछिल्लो समय एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा क्षयरोग पहिचानमा सहजता आएको स्वास्थ्य शाखाको भनाइ छ। हाल मेचीनगर–२, ४, ७, १०, १२ र १५ नम्बर वडामा उक्त परीक्षण गरिएको छ।

गत वैशाखमा मेचीनगरमा पहिलोपटक एआई प्रविधिबाट क्षयरोग पहिचानका लागि छातीको एक्सरे शिविर सञ्चालन गरिएको थियो।
‘आगामी २०८३ सालभित्र मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ सापकोटाले भनिन्, ‘अब एक वर्षभित्र अभियान सफल बनाउने गरी सक्रिय छौं।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरका क्षयरोग फोकल पर्सन र इन्चार्जहरूको सहभागिता रहेको थियो। गोष्ठीको सहजीकरण स्वास्थ्य शाखाले गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here