मानव सेवामा समर्पित रेडक्रस

0
19

रगत मानव शरीरको महत्वपूर्ण पदार्थ हो । रगतको मात्रामा कमी आयो भने मानिस जीवित रहन सक्दैन । एउटा स्वस्थ र वयस्क मानिसको शरीरमा छ लिटरसम्म रगत हुन्छ । त्यसमा कुनै कारणले कमी भयो भने पनि शरीरका अङ्गहरुले काम गर्न सक्दैनन् । रगतले शरीरका कोष, तन्तु, प्रणाली र अङ्गहरुलाई जीवित राख्न आवश्यक खाद्यपदार्थ र अक्सिजन प्रदान गर्छ । त्यसैगरी तिनै अङ्गहरुबाट उत्पादन हुने विकारहरुलाई शरीरबाट बाहिर फ्याक्न समेत रगतको आवश्यकता हुन्छ । यस्तो महत्वपूर्ण पदार्थको खाँचो कहिले, कसलाई र कुन अवस्थामा पर्छ भन्ने थाह हुँदैन । सामान्यतयाः महिनावारी हुँदा, सुत्केरी हुँदा, गर्भपतन हुँदा वा नाथ्री फुटेमा मानव शरीरलाई रगतको कमी पूरा गर्न रक्तदान गर्नुपर्छ ।

भैपरी आउने दुर्घटना होस् वा असाध्य रोगका बिरामीलाई तत्काल रगत दिइएन भने मृत्यु हुनसक्छ । जीवन र मरणको दोसाँधमा रहेका बिरामीलाई आफ्ना शरीरमा भएको र ‘खेर जाने’ रगत दान गरेर जीवन बचाउन पाउनु ठूलो पुण्यको काम हो । रगत दान गर्ने सम्बन्धमा हामीकहाँ अझै केही भ्रमहरु छन् जसका कारण रगतको कमी हुने गर्छ । त्यसलाई हटाउन र रगत शरीरमा आफैं निर्माण हुन्छ र आफैं मरेर जान्छ भन्ने तथ्य बुझाउन जरुरी छ । रगत दान गर्ने उमेर समूहका धेरै युवाहरु विदेश गएका कारण पनि रगतको अभाव हुने गरेको छ । मानव जीवनको अस्तित्वसँग गाँसिएको रगतको यथोचित आपूर्ति गर्न रेडक्रस सोसाइटीले लामो समयदेखि ठूलो भूमिका र योगदान गर्दै आएको छ । त्यही क्रममा झापा रेडक्रस सोसाइटीले रक्त आपूर्तिसँगै विपद् व्यवस्थापन, स्वयम्सेवक परिचालन तथा मानवताको विविध सेवामा स्थानीय सरकार तथा संघ–संस्थासँग सहकार्य गर्दै आएको छ ।

झापामा हाल छ वटा ब्लड बैंक छन्, जसले आधुनिक प्रविधिको प्रयोग, स्वयम्सेवक र रक्तदाताको सक्रियतामा रगत संकलन तथा आपूर्ति गर्दै आएको छ । रेडक्रस झापाका सभापति लोकराज ढकालका अनुसार जिल्लामा वार्षिक बीस हजार युनिट रगत खपत हुन्छ । त्यसबाहेक पनि फ्रेस ब्लडको खाँचो समेत पूरा गर्नुपर्ने हुन्छ । जेन–जी आन्दोलनका घाइतेहरुका लागि झापाबाट रगत पठाउनु परेको र कहिलेकाहीँ सीमापारीका अस्पतालहरुमा समेत पठाउनु परेको सभापति ढकालको भनाइ छ । त्यसैले रक्तदानलाई संस्कृतिका रुपमा विकास गर्न विभिन्न सामाजिक संघ–संस्थाहरुले समेत रेडक्रसलाई सहयोग गरिरहेका छन् । यसलाई निरन्तर र बृहत्तर रुपमा सञ्चालन गर्न युवा वर्गकै साथ र सहयोग चाहिन्छ । झापा रेडक्रस यही दिशातर्फ उन्मुख छ, जसले मानिसलाई मृत्युको मुखबाट निकाल्न योगदान गरिरहेको छ । मानवताको सेवामा समर्पित रेडक्रस र उसको आदर्श, मूल्य र मान्यतालाई आत्मसात गर्ने रक्तदाता, समन्वयकर्ता र साथ दिने संघ–संस्थाहरु धन्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here