
सामान्य परिचय र महत्व
यस वर्षको पुत्रदा एकादशी पौष १५ गते मंगलबार परेको छ । हरेक वर्ष पौष शुक्लपक्षको एकादशी तिथिलाई पुत्रदा एकादशीका नामले चिनिन्छ । सन्तान सुख प्राप्त गर्न चाहने महिला वा दम्पत्तीहरुका लागि यो एकादशी वरदान स्वरुप हुने बताइएको छ । भगवान विष्णुको कृपाले यस एकादशीका व्रतालुहरुलाई सन्तान प्राप्ति हुने भएका कारण यस एकादशीको नाम पुत्रदा एकादशी रहन गएको शास्त्रमा उल्लेख छ ।
हरेक महिनाको शुक्लपक्ष र कृष्णपक्षको ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथिलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यपछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथि भनिन्छ । हिन्दु सनातन सम्प्रदायमा यी दुबै प्रकारका एकादशी तिथिहरुको धेरै महत्व रहेको छ ।
“अश्वमेधसहस्त्राणि राजसूयशतानि च ।
एकादश्यपुवासस्यकलां नार्हन्तिषोडशीम ।।”
अर्थात्ः एकादशी व्रतको महत्व यति छ कि हजार–हजार अश्रवमेध यज्ञ र सयौँ राजसूय यज्ञको महत्व एकादशी व्रतको महत्वको सोह्र भागको एक भाग जति पनि हुँदैन । अधिक वर्ष र शुद्ध वर्षमा एकादशीको संख्या फरक–फरक हुन आउँछ । चन्द्रमासका हिसाबले हरेक महिनाका कृष्णपक्ष र शुक्लपक्षमा गरी एक महिनामा दुईवटा र वर्षभरीमा २४ वटा एकादशी हुन्छन् । तर मलमास वा अधिकमासमा अरु दुईवटा एकादशी थपिएर जम्मा २६ वटा एकादशी हुन्छन् । यदि एकादशी तिथि दुई दिन परेको भए शैवमार्गीहरुले पहिलो दिन र वैष्णवहरुले दोस्रो दिन एकादशी व्रत राख्छन् ।
सबै एकादशीहरु उत्पत्तीका कथा, महत्व र व्रतविधिहरु बताइएको छ । एकादशी व्रत भगवान विष्णुको पूजा र उपासनाका लागि समर्पित गरिन्छ । व्रतमा भगवान विष्णुको पूजा र कथा श्रवण गरिन्छ । सबै प्रकारको सुख प्रदान गर्ने व्रतका रुपमा एकादशी पर्वलाई मानिन्छ । एकादशी व्रतका प्रभावले व्यक्तिका सबै पाप र दुर्गुणहरु नाश भएर जान्छन् र यसको विधिपूर्वक राखिएको व्रतका कारण विष्णुको कृपा प्राप्त हुन्छ । एकादशी व्रतको महत्वकाबारेमा पद्म पुराणमा उल्लेख गरिएको छ ।
“स्वर्गमोक्षप्रदा हृोषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदाहृोषाधनमित्रप्रदायिनी ।।
नगंगा न गया राजन न च काशी च पुष्करम् ।
न चापिकौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।”
एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवम् सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन ! गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्र मध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । यस श्लोकमा उल्लेख गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । यीनदी र तीर्थको नाम लिना साथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थ स्थलहरु मध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ । अर्थात् एकादशीको महत्व सबैभन्दा उच्च छ । पुत्रदा एकादशीको पूजाका लागि पूजा सामग्रीहरु भगवान विष्णुको मूर्ति वा तस्वीरकाठको चौकी, पहेँलो वस्त्र, आसन, शुद्धजल या गंगाजल, पहेँलो वस्त्र, पहेँलो पूmल, पहेँलो फल, मिठाई, दिप, तिल, जौ, घ्यू, आरतीका सामान, व्रतकथाको पुस्तक ।
पुत्रदा एकादशी व्रतविधि
सूर्योदयभन्दा अघि उठेर स्नान गर्ने । शरीर र चित्त शुद्ध गर्ने । घरको पूजाकोठा या पवित्र स्थानमा भगवान विष्णुको प्रतिमा या मूर्ति स्थापित गर्ने । शुद्ध जलले ती सम्पूर्ण सामग्री शुद्ध गर्ने, पहेँलो वस्त्र, चन्दन, पूmल, तुलसी दल आदि अर्पण गर्ने । भगवान विष्णुलाई पञ्चामृत वा गंगाजलले अभिषेक गर्ने, पहेँलो चन्दन, पहेँलो पूmल र तुलसी दल चढाउने, घ्यूमा बाती बाल्नु र ‘ॐ नमो भगवते वासुदेवाय’मन्त्रको जाप गर्दै सन्तान प्राप्तिको मनोकामना साथ व्रतको संकल्प गर्नु । भोलिपल्ट द्वादशीका दिन स्नान गर्ने, ब्राम्हण वा असहायलाई भोजन गराउने या दान दक्षिणा गर्ने र आपूmले पनि अन्न वा फलहार ग्रहण गरेर व्रत खोल्ने ।
महत्वपूर्ण नियमः पूर्ण ब्रम्हाचार्यको पालन गर्ने । एकादशीका दिन तुलसी पत्र नटिप्ने, एक दिनअघि टिप्ने । सकेसम्म परिवारका सदस्यहरुले पनि तामसी भोजन नगर्ने । क्रोधलाई नियन्त्रण गर्ने । मनमा सकारात्मक र परोपकारी भावना राख्ने । क्रोध र लोभलाई त्यागेर बढीभन्दा बढी समय भक्ति, ध्यान र जपमा व्यतीत गर्नु पर्दछ । साँझमा श्रीहरिको आरती गर्नुपर्दछ । सम्भव भएसम्म रात्रीमा जागरण गर्ने र भजनकीर्तन गर्ने ।
पुत्रदा एकादशीको कथा
महाराज युधिष्ठिरले सोध्नुभयो– ‘हे भगवान ! हजुरले सफला एकादशीको महात्म्य बताएर कृपा गर्नुभयो । अब दया गरेर यो बताउनुहोस् कि पौष शुक्ल एकादशीको नाम के हो । त्यसको विधि के हो ? र यस एकादशीका दिन कुन–कुन देवताको पूजा गर्नुपर्दछ ?’
भक्त वत्सल भगवान श्रीकृष्ण भन्नुहुन्छ– ‘हे राजन ! यस एकादशीका नाम पुत्रदा एकादशी हो । यस एकादशीमा भगवान नारायणको पूजा गरिन्छ । यस संसारमा पुत्रदा एकादशी व्रत जस्तो अरु कुनै व्रत छैन । यस व्रतको पुण्यका प्रभावले मनुष्यतपस्वी, विद्वान र धनवान बन्दछ । म यस व्रतकथा विस्तारमा भन्छु ध्यानपूर्वक सुन ।’ भद्रावती नामको एक नगरीमा सुकेतुमान नामका एक राजा राज्य गर्दथे । उनका कुनै सन्तान थिएनन् । उनकी स्त्रीको नाम शया थियो । उनी निसन्तान भएका कारण सदैव चिन्तित हुने गर्दथिन् । राजाका पितृहरु पनि रुँदै पिण्ड लिने गर्दथे । किनकि उनीहरुलाई चिन्ता थियो, सुकेतुमान पश्चात उनीहरुलाई पिण्ड दिने कोही थिएनन् ।
राजा सदैव यही विचार गर्दथे कि, आप्mनो मृत्युपश्चात कसले पिण्ड दान गर्ला ? बिना पुत्र पितृ र देवताको ऋण कसरी चुकाउने होला ? त्यसैले अब मैले पुत्र प्राप्तिको लागि केही प्रयत्न गर्नु पर्दछ । एक समय राजाले आप्mनो शरीर त्याग्ने निश्चय गरे तर आत्मघातको महापाप सम्झेर उनले यसो गरेनन् । एकदिन राजा आप्mनो घोडामा चढेर वनतर्फ जाँदै थिए । उनले पंक्षी, वृक्ष, मृग, वाघ, सुँगुर, सिंह, बाँदर, सर्प आदि सबै वनमा घुमफिर गरिरहेको दृष्य देखे । हात्ती आप्mनो बच्चा र ढोइसँग घुमिरहेको थियो ।
राजा वनमा विचरण गर्दागर्दै आधा दिन बित्यो । उनी सोच्थे– मैले कति यज्ञ गरेँ, ब्राम्हणलाई स्वादिष्ट भोजनले तृप्त गरेँ फेरि पनि मलाई किन यति दुःख भएको होला ?
यस्तै सोच्दै घुम्दाघुम्दै राजालाई अत्यन्त तिर्खा लाग्यो । पानीको खोजीमा उनी यताउता फिर्न लागे । उनले अलिक पर एक सरोवर देखे । उक्त सरोवरमा कमल खेलिरहेको थियो । सारस, हाँस र गोहीहरु विहार गरिरहेका थिए । त्यस सरोवरको चारैतर्फ ऋषिमुनिहरुका आश्रम थिए । त्यही समयमा राजाको दाहिने अंग फरफरायो । यसैलाई शुभसाइत सम्झेर राजाले घोडाबाट ओर्लिएर ऋषिहरुलाई दण्डवत् प्रणाम गरे ।
राजालाई देखेर मुनिहरु भन्न लागे– हे राजन ! हामी तिमीबाट अत्यन्त प्रसन्न छौँ । तिम्रो के इच्छा छ, त्यो माग । राजाले भने– महाराज तपाईहरु को हुनुहुन्छ ? र यहाँ किन आउनुभएको हो ? कृपा गरेर बताइदिनुहोस् । मुनिहरु भन्न लागे– हे राजन ! आज सन्तान दिनेवाला पुत्रदा एकादशी हो । हामी विश्वदेव हौँ र यस सरोवरमा स्नान गर्नका लागि आएको हौँ । यो सुनेर राजाले भन्न लागे कि– महाराज मेरा पनि कोही सन्तान छैनन् । यदि हजुर मबाट प्रशन्न हुनुहुन्छ भने एक सन्तानको वरदान दिनुहोस् । मुनिहरु भन्न लागे– हे राजन ! आज पुत्रदा एकादशी हो । तपाईँ यो व्रतको पालन गर्नुहोस् । नारायणको आशीर्वादले तपाइँको घरमा अवश्य सन्तान प्राप्त हुनेछ ।
मुनिको बचन सुनेर राजाले त्यहि दिन एकादशीको व्रत गरे र द्वादशीमा व्रतको पारण गरे । तत्पश्चात ऋषिहरुलाई प्रणाम गरेर आप्mनो महलमा गए । केही समय बितेपछि रानीले गर्भाधारण गरिन् र नौ महिनापछि उनको एक पुत्रको जन्मभयो । ती राजकुमार अत्यन्त शूरवीर, यशस्वी र प्रजापालक बने । श्रीकृष्ण भन्नुहुन्छ– हे राजन ! पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत गर्नुपर्दछ । जो मनुष्य यस महात्म्यलाई पढ्छ या सुन्छ उसलाई अन्त्यमा स्वर्गको प्राप्ति हुन्छ ।
























