एउटै घर, एमालेको केन्द्रीय राजनीतिमा तीन नेता : संघर्ष, प्रतिबद्धता र जनविश्वासको आधार बन्यो कार्की परिवार

0
552

सुरेन्द्र भण्डारी

झापा, नेपाली राजनीतिमा एउटै परिवारका एकभन्दा बढी सदस्य नेतृत्व तहमा पुग्नु सधैं बहसको विषय बन्दै आएको छ । कतिपयले यसलाई वंशवादको दृष्टिले हेर्छन्, तर केहीका लागि यो निरन्तर संघर्ष, प्रतिबद्धता र जनविश्वासको परिणाम हुनसक्छ ।

झापाको गौरादह निवासी कार्की परिवारले यही उदाहरण दिएको छ । नेकपा एमालेमा एउटै घरका तीन जना सदस्य केन्द्रीय राजनीतिमा देखिएका छन् । हिक्मतकुमार कार्की (केन्द्रीय सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री), दीपक कार्की (केन्द्रीय सदस्य) र लीला कट्टेल कार्की (केन्द्रीय अनुशासन आयोग सदस्य) – नेतृत्व तहमा पुगेर उदाहरण प्रस्तुत गरेका छन् ।

तीन दशकभन्दा लामो वाम आन्दोलनको उपलब्धि स्वरुप नेतृत्व तहमा पुगेर राजनीतिमा सकारात्मक योगदान दिन सकिन्छ भन्ने कार्की परिवारले सन्देश समेत दिएको छ ।

  • विद्यार्थी आन्दोलनबाट केन्द्रीय सचिवसम्म

     

२०२१ साल असोज ११ गते झापाको तत्कालीन गौरादह –९ हाल गौरादह नगरपालिका –३ मा जन्मिएका हिक्मतकुमार कार्कीको राजनीतिक जीवन विद्यार्थी आन्दोलनबाट शुरु हुन्छ । बमबहादुर कार्की र जानुकादेवी कार्कीका तेस्रो सन्तानका रूपमा जन्मिएका उनी सामान्य किसान परिवारमा हुर्किए । बाल्यकाल गौरादहमै बित्यो । स्थानीय जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी विद्यार्थी राजनीतिमा संगठित भए ।

विद्यालय जीवनमै अनेरास्ववियुमा आबद्ध भएका कार्की २०३६ सालतिर पार्टी राजनीतिमा प्रवेश गरे । महेन्द्र बहुमुखी क्याम्पसबाट आइएलको अध्ययन सकेर २०४२ सालमा नेपाल ल कलेजमा उच्च शिक्षा अध्ययन गर्न काठमाडौं पुगे । कानूनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी पढाइसँगै विद्यार्थी राजनीतिमा सक्रिय रहे ।

अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीदेखि जिल्ला, अञ्चल हुँदै केन्द्रीय तहसम्म पुग्दा उनले संगठन र आन्दोलन दुवैको अनुभव सँगाले । २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका कार्की नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति भए । यही पृष्ठभूमिले उनलाई पार्टी राजनीतिमा स्थापित गरायो ।

२०४६ को जनआन्दोलनपछि विद्यार्थी राजनीतिबाट पार्टी काममा झापा फर्किएका कार्की लामो समय जिल्लामै संगठन निर्माण र जनसम्पर्कमा खटिए । एमालेको पाँचौं महाधिवेशनदेखि स्वयंसेवक कमान्डमा रहेर उनले पार्टीका राष्ट्रिय कार्यक्रम र महाधिवेशनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उनको राजनीतिक उचाइ झन् बढ्यो ।

प्रदेश संरचना गठनको चरणमा उनी प्रदेश नम्बर १ (हाल कोशी) संगठन कमिटी, प्रचार विभाग प्रमुख, मेची अञ्चल समन्वय कमिटी इञ्चार्ज हुँदै प्रदेश राजनीतिका मुख्य योजनाकारमध्ये एक भए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा–५ (क) बाट निर्वाचित उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री बने । झण्डै साढे तीन वर्ष मन्त्रालय सम्हाल्दा शान्ति सुरक्षा, कानून निर्माण र प्रदेश प्रशासन सुदृढीकरणमा उनको भूमिका उल्लेखनीय रह्यो ।
नेकपा विभाजनपछि २०७८ मा सरकारबाट बाहिरिएका कार्की २०७९ को निर्वाचनमा पुनः निर्वाचित भए । एमालेको दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका उनी हाल पार्टी केन्द्रीय सचिव र कोशी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।

संघीयताको आलोचक छवि बनाएका कार्की प्रदेश सरकारको नेतृत्व सम्हालेपछि भने संघीयतालाई संस्थागत र प्रभावकारी बनाउनुपर्ने पक्षमा उभिएका छन् । स्पष्ट वक्ता, सबैसँग घुलमिल हुने स्वभाव र संगठनप्रति समर्पित छविले उनलाई एमालेभित्र प्रभावशाली बनाएको छ ।

संगठनको मेरुदण्ड : 

हिक्मतका दाजु दीपक कार्की एमालेभित्र संगठन निर्माणमा खारिएका नेता मानिन्छन् । झापा जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने उनी लामो समय जिल्लाको नेतृत्व सम्हालेर पार्टीलाई जरा तहसम्म विस्तार गर्न सफल भएका पात्र हुन् ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय दीपर्कले पार्टीको तल्लो तहबाट अनुभव सँगाले । वडा, इलाका, नगर हुँदै जिल्ला तहका विभिन्न जिम्मेवारी सम्हाल्दै उनले संगठनलाई बुझ्ने र चलाउने सिप विकास गरे । यही कारण पार्टीभित्र उनलाई ‘संगठनको मान्छे’ भनेर चिनिन्छ ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालीन झापा क्षेत्र नम्बर ६ बाट निर्वाचित भए । संविधान निर्माणको ऐतिहासिक प्रक्रियामा सहभागी रहँदा उनले लोकतान्त्रिक गणतन्त्र, समावेशिता र संघीय संरचनाका विषयमा पार्टी धारणा मजबुत बनाउन भूमिका खेले ।

झापा जिल्ला अध्यक्षका रूपमा उनको कार्यकाल पार्टी वृत्तमा विशेष रूपमा स्मरण गरिन्छ । संगठन विस्तार, कार्यकर्ता प्रशिक्षण, चुनावी रणनीति र जनसरोकारका मुद्दामा पार्टीको उपस्थितिलाई बलियो बनाउनु उनको प्राथमिकता रह्यो । उनका कार्यकालमा झापा एमालेको संगठन थप व्यवस्थित र अनुशासित बनेको एमालेका नेताहरू स्वीकार गर्छन् ।
यही योगदानका कारण दीपक पार्टीको केन्द्रीय सदस्य बने । केन्द्रीय सदस्यको हैसियतमा उनी नीति निर्माण, संगठन सुदृढीकरण र केन्द्र–प्रदेश–जिल्लाबीच समन्वय कायम गर्न सक्रिय छन् । सरल, व्यवहारिक र अनुशासनप्रति कठोर मानिने दीपक कार्यकर्तासँग प्रत्यक्ष संवादमा विश्वास गर्ने नेताका रूपमा चिनिन्छन् ।

  • संघर्ष र अनुशासनको प्रतीक  :

कार्की परिवारको राजनीतिक यात्रामा लीला कट्टेल कार्कीको कथा पनि संघर्षपूर्ण छ । २०२१ जेठमा जन्मिएकी लीला विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा सक्रिय भइन् । २०३६ सालमा अनेरास्ववियुमा आबद्ध हुँदै राजनीतिमा पाइला टेकेकी उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा थिइन् ।

२०४१ मंसीरदेखि २०४४ असारसम्म उनी भूमिगत भइन् । पार्टीको निर्देशनमा जोखिमपूर्ण जिम्मेवारी सम्हाल्दै काम गरिन् । २०४७ पुस ९ गते पार्टी सदस्यता लिएकी उनले जेल जीवन पनि भोगिन् । २०४० सालको मार्च ८ महिला दिवसको अवसरमा झापामा गरिएको कार्यक्रमकै क्रममा पक्राउ परेकी उनी नौ महिना जेल बसिन् । गर्भावस्थामै आन्दोलनमा सक्रिय रहेको स्मृति उनी आज पनि सुनाउँछिन् ।

विवाह पनि पार्टीकै सल्लाहमा दीपक कार्कीसँग भयो । दीपक बाहिरी राजनीतिक जिम्मेवारीमा हुँदा लीलाले इलाकाको संगठन सम्हालिन् । अर्धभूमिगत अवस्थामै घरबाट पार्टी काम गर्ने उनी महिला आन्दोलन र भूमिगत संघर्षकी साक्षी हुन् ।
आज लीला कट्टेल कार्की एमालेको केन्द्रीय अनुशासन आयोगकी सदस्य छिन् । पार्टीभित्र नियम, आचारसंहिता र अनुशासनका विषयमा निर्णय प्रक्रियामा उनको भूमिका छ । लामो संघर्ष र त्यागको पृष्ठभूमिका कारण उनलाई पार्टीभित्र अनुशासन र प्रतिबद्धताको प्रतीकका रूपमा हेरिन्छ ।

  • परिवार, राजनीति र जनविश्वास

एउटै घरका तीन जना एमालेको केन्द्रीय नेतृत्वमा पुग्नु संयोग मात्र होइन । तीनै जनाको यात्रा फरक–फरक मोड, भूमिका र जिम्मेवारीसँग जोडिएको छ । हिक्मत सरकार र पार्टी नेतृत्वमा, दीपक संगठन सुदृढीकरणमा, र लीला अनुशासन र आचारसंहितामा केन्द्रित छन् ।

यद्यपि आलोचना पनि छन् । राजनीति परिवार केन्द्रित नबनोस् भन्ने चिन्ता स्वाभाविक हो । तर लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हातमा हुन्छ । संघर्ष, योगदान र विश्वासका आधारमा जिम्मेवारी पाएका नेताहरूले त्यो विश्वास जोगाउन सक्नुपर्छ ।
कार्की परिवारको यो राजनीतिक उचाइ उनीहरूको विगतले बनाएको हो भने भविष्य उनीहरूको कामले निर्धारण गर्नेछ । एमालेभित्र मात्र होइन, नेपाली राजनीतिमा पनि यो परिवारको यात्रा योगदान, संघर्ष र जनविश्वासको उदाहरणका बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here