एमालेले झापाका पाँचै क्षेत्रमा उम्मेदवार टुंग्यायो

0
17

झापा , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ ।

यसक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ ।

शनिबार सम्पन्न एमाले क्षेत्र नं. ५ को क्षेत्रीय समन्वय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। झापा ५ ओलीको गृह निर्वाचन क्षेत्र हो। उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

दमक–४ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईं छन्। क्षेत्रीय इन्चार्ज कृष्ण कनालको अध्यक्षतामा मेचीनगर–६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो।

झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेमा देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, रोजिना पाण्डे (महिला), जसमाया गजमेर (महिला), एकराज कार्की र पवित्रा पाठक (महिला) रहेका छन्।त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट दिपक कार्कीसहित पाँच जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दिपक कार्की, हरिबहादुर राजवंशी, बसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए।

झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here