राईलाई भेट्रान्स टेबल टेनिसको उपाधि

0
29

झापा , झापा जिल्लास्तरीय भेट्रान्स टेबल टेनिस प्रतियोगिताको उपाधि प्रकाश राईले हात पारेका छन्। झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा राईले कडा प्रतिस्पर्धापछि विजयी हुँदै उपाधि जितेका हुन्।

फाइनल खेलमा राईले जीवन ओलीलाई ३–१ को सेटमा पराजित गरे। उनले पहिलो सेट १०–१२ ले गुमाए पनि त्यसपछि दोस्रो सेट ११–८, तेस्रो सेट ११–८ र चौथो सेट ११–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुरक्षित गरेका थिए।

प्रतियोगितामा मिलन शाक्य तेस्रो स्थानमा रहे। महिलातर्फ जमुना राई प्रथम र कुसुम कोइराला दोस्रो भएकी छन्।

झापा जिल्लाभरबाट ४४ जना खेलाडी सहभागी प्रतियोगिता केही दशकयता सुस्ताउँदै गएको टेबल टेनिस खेललाई पुनःचलायमान बनाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ। मनकामना फ्रुट एन्ड बेभरेजको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलकुदले राष्ट्रलाई चिनाउने र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले सरकारले टेबल टेनिस खेललाई अपेक्षित महत्व नदिएकोप्रति पनि ध्यानाकर्षण गराए। निजी क्षेत्रको सहयोगमा आयोजना गरिएका यस्ता प्रतियोगिताले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान दिने उनको भनाइ थियो।

झापा जिल्ला टेबल टेनिस संघका अध्यक्ष सन्तोष अग्रवालले यसै वर्ष झापा जिल्लास्तरीय मेयर कप टेबल टेनिस प्रतियोगिता बिर्तामोडमा आयोजना गर्ने जानकारी दिए। साथै, नजिक भविष्यमा मेयरमान स्मृति प्रतिष्ठानको जग्गामा टेबल टेनिसका लागि छुट्टै कभर्ड हल निर्माण गर्ने लक्ष्य लिइएको बताए। प्रतिष्ठानले जग्गा उपलब्ध गराइसकेको र रकम संकलन तथा निर्माण कार्य अघि बढिसकेको पनि उनले जानकारी दिए।

समापन समारोहमा मनकामना फ्रुट एन्ड बेभरेजका प्रबन्ध निर्देशक कृष्ण गिरी, अन्तर्राष्ट्रिय कराँते रेफ्री मिलन प्रसाईंलगायत अतिथिहरूले खेलाडीहरूलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रमको संयोजन विपिन तुलाधर उदासले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here