झापा , १५औँ राष्ट्रिय ‘मारवाडी युवा दिवस’को अवसरमा बिर्तामोडमा शनिबार रक्तदान शिविर सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत मारवाडी युवा मञ्च, बिर्तामोडको आयोजनामा भएको शिविरमा ३५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।
बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिरको प्राङ्गणमा आयोजित शिविरमा तीन जना महिलासहित ३५ जना रक्तदाताको सहभागिता रहेको आयोजकले जनाएको छ। समाजसेवाको भावनासहित आयोजना गरिएको कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल, क्षेत्रीय सभापति दीपक मित्तल, संगठनका केन्द्रीय सदस्यहरू, मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। साथै मारवाडी सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुर) लगायतको पनि उल्लेखनीय सहभागिता थियो।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान शिविरको संयोजन मारवाडी सेवा समिति बिर्तामोडका उपाध्यक्ष विशाल गोयलले गरेका थिए।
आयोजक संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।






























