देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव : शिक्षाको उज्यालो यात्रामा अर्को ऐतिहासिक पाइला

0
557

झापा, झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षाको उज्यालो यात्रा निरन्तर अघि बढाउँदै आएको विद्यालयले तीन दशकभन्दा बढी समयको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो । 

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अध्यक्षता रहेको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, अभिभावक, समाजसेवी, उद्योगी, शिक्षासेवी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमको सुरुवात विद्यालयका शिक्षक उमेश कुमार शाहको स्वागत मन्तव्यबाट भएको थियो भने शिक्षक युवराज ढकालको स्वागत गीतले समारोहलाई थप सजीव बनाएको थियो ।

प्रमुख अतिथि प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै विद्यालयका जग्गादाता खनपरुदे रामबाबु प्रसाईको अर्धकद शालिकमा माल्यार्पण गरी औपचारिक रूपमा कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

सो अवसरमा विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै देवी माध्यमिक विद्यालयको ऐतिहासिक यात्रा र योगदानबारे जानकारी गराइन् । उनले २०१९ सालमा सानो झुपडीबाट सुरु भएको विद्यालय आज हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो बाँड्दै आएको उल्लेख गरिन् ।

“विद्यालय स्थापना गर्ने संस्थापक, जग्गादाता र योगदानकर्ताहरूको अथक प्रयास र समर्पणबिनाको आजको यो अवस्था सम्भव थिएन,” प्रधानाध्यापक श्रेष्ठले भनिन्, “उहाँहरूप्रति हार्दिक श्रद्धा व्यक्त गर्दछु ।”

विद्यालयको इतिहास स्मरण गर्दै उनले २०३४ सालमा टोरूप प्रसाई र विवेक केशरी प्रसाईको पहलमा प्राप्त एक विघा जग्गा तथा ६० हजार रुपैयाँ लगानीमा पाँच कोठे भवन निर्माण भई ‘देवी माध्यमिक विद्यालय’को स्थापना भएको जानकारी दिइन् । त्यसयता विद्यालयले गुणस्तरीय शिक्षामार्फत समाजका लागि सक्षम जनशक्ति उत्पादन गर्दै आएको उनको भनाइ थियो ।

समारोहमा हालसालै सम्पन्न विकास कार्यहरूको पनि चर्चा गरिएको थियो । इन्टरएक्टिभ कक्षाकोठा, कम्प्युटर ल्याब, विभिन्न छात्रवृत्ति अक्षयकोष स्थापना, शुद्ध खानेपानी, सेनिटरी प्याड भेन्डिङ मेसिन जडान तथा नयाँ तीनतले १२ कोठे भवन निर्माणजस्ता उपलब्धिहरू विद्यालयको प्रगतिका उदाहरणका रूपमा प्रस्तुत गरिए ।

प्रधानाध्यापक श्रेष्ठले आगामी योजनाबारे जानकारी दिँदै विद्यार्थीको बढ्दो संख्यालाई मध्यनजर गरी खेलमैदान निर्माण, बस सेवा विस्तार, थप ३० वटा इन्टरएक्टिभ बोर्ड जडान, अंग्रेजी र नेपाली दुवै माध्यममा समानान्तर कक्षा सञ्चालन तथा अभिभावकसँग सहकार्य गर्दै शिक्षण–सिकाइ सुधार कार्यक्रम अघि बढाइने बताइन् । ६३ औँ वार्षिकोत्सवले विद्यालयको उज्यालो भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरियो ।

समारोहमा कक्षा ६ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई स्टेशनरी किट वितरण गरिएको थियो । शिक्षा शाखा प्रमुख तीलचन भण्डारीले ती सामग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल विद्यार्थी कृतान्जल दाहाल ९२०८१० र रोहन सुनार ९२०८२० लाई विशेष सम्मान गरिएको थियो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पहिलो त्रैमासिक छात्रवृत्ति प्रदान गरिएको थियो ।

मानवहादुर–भगवती गिरी अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति अक्षयकोष, हरिकला धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाई स्मृति अक्षयकोष, लक्ष्मी निरौला स्मृति अक्षयकोष, परशुराम ढकाल स्मृति अक्षयकोष, नन्दलाल–चन्द्रमाया न्यौपाने स्मृति अक्षयकोषलगायत विभिन्न छात्रवृत्ति कोषबाट विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा हेडटिचर अवार्ड २०८१ अन्तर्गत एसइई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी, कक्षा १२ मा सर्वाधिक जीपीए ल्याउने विद्यार्थी, कक्षा ११ का समूहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदै विजेता बनेका खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, उत्कृष्ट कर्मचारी धनमाया थापा, दीर्घसेवी शिक्षक दुर्गा कुमारी उप्रेती र भक्तराज घिमिरेलाई सम्मान गरिएको थियो । निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष आशिष वनसहित सदस्यहरू दमन्ता अधिकारी, मेदनी विश्वकर्मा, गोवेन धिमाल र मदनकुमार नेम्वाङलाई पनि सम्मान गरियो ।

विद्यालयका सहायक प्रधानाध्यापक लीला भण्डारीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै समारोहलाई रंगीन बनाएका थिए ।

६३ वर्षे इतिहास बोकेको देवी माध्यमिक विद्यालयको वार्षिकोत्सवले शिक्षा, संस्कार र सामाजिक विकासमा विद्यालयको भूमिकालाई पुनः उजागर गरेको सहभागीहरूको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here