झापा । महेन्द्र रत्न माध्यमिक विद्यालय, अनारमनीका पूर्व विद्यार्थीहरूको संस्था ‘महेन्द्र रत्न मावि पूर्व विद्यार्थी समाज’को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट मदन गोपाल सुब्बा सर्वसम्मत अध्यक्ष चयन भएका छन्।
संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीचरण शिवाकोटी प्रमुख अतिथि रहेका थिए।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा रूपक गोदार थापा, सचिवमा भूविक्रम बस्नेत, कोषाध्यक्षमा नरेश न्यौपाने चयन भएका छन्। सदस्यहरूमा भावना आचार्य, शारदा न्यौपाने, इन्दिरा भट्टराई गिरी, शान्ता चुडाल, शोभा आचार्य, कमलराज विमली, सुसिल बस्नेत, बाबुलाल अग्रवाल, कृष्णलाल राजवंशी, गोपाल दाहाल र किशोर मैनाली रहेका छन्।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेलले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन मोहन शिवाकोटी र स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष सुब्बाले राखेका थिए।
अधिवेशनका अवसरमा विद्यालयका चार जना शिक्षकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा वर्तमान प्रधानाध्यापक खड्गप्रसाद खरेल, पूर्व शिक्षकहरू नेत्रप्रसाद खरेल, भोजराज दाहाल र युवराज कट्टेल रहेका छन्। कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम तथा प्रधानाध्यापक खरेलले शुभकामना मन्तव्य राखेका थिए।
सोही अवसरमा समाजद्वारा प्रकाशित ‘महेन्द्र रत्न प्रेरणा पुंज’ स्मारिका विमोचन गरिएको थियो। समाजको हालसम्म १७ लाख रुपैयाँ अक्षय कोष संकलन भइसकेको र १५१ जना पूर्व विद्यार्थी आजीवन सदस्य रहेको जानकारी काजी बुढाथोकीले दिए।
पूर्व विद्यार्थी समाजको पहिलो भेला वि.सं. २०७९ साउन २१ गते विद्यालय परिसरमा सम्पन्न भई पोखरेलको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो। त्यसपछि २०७९ मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय झापामा समाज विधिवत् दर्ता भएको हो। संस्थाको अक्षय कोषमा ५ हजार ५ सय रुपैयाँ योगदान गर्ने सदस्य स्वतः आजीवन सदस्य हुने व्यवस्था गरिएको डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए।
वि.सं. २०१४ सालमा स्थापना भएको यस विद्यालयले २०२७ सालदेखि प्रवेशिका परीक्षामा सहभागिता जनाउँदै आएको छ। समाजले हालसम्म गुरु पूर्णिमाका अवसरमा गुरु सम्मान, शुद्ध खानेपानी ट्यांकी निर्माण, छात्रवृत्ति वितरण, टाढाबाट आउने छात्रालाई साइकल वितरण तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको वेदप्रकाश न्यौपानेले जानकारी दिए।
संस्थाले अधिवेशन तथा औपचारिक कार्यक्रमबाहेक अन्य बैठक वा भेलामा संस्थाको रकम खर्च नगर्ने नीति अवलम्बन गर्दै आएको रूपक गोदार थापाले बताए।































