झापा । पूर्वी नेपालमा आएको बाढी र पहिरोका पीडितलाई राहत उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै रोटरी क्लब अफ बिर्तामोड मिडटाउनलाई सम्मान गरिएको छ । ‘एकका लागि एक अभियान’को आयोजनामा बिर्तामोडमा आयोजित कार्यक्रममा सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गरेको भन्दै क्लबलाई कदरपत्रद्वार सम्मान गरिएको हो।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले क्लवकी अध्यक्ष पुष्पाञ्जलि सिन्हालाई कदर–पत्र हस्तान्तरण गर्दै विपद्को कठिन घडीमा निजी क्षेत्र, सामाजिक संघ–संस्थाको सक्रियता अत्यन्तै महत्वपूर्ण हुने बताए।
गत असोज १८ र १९ गते झापा र इलाम जिल्लामा अविरल वर्षासँगै आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो। सो विपद्का बेला जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय र एकका लागि एक अभियानको अगुवाइमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले पीडित परिवारहरूलाई अत्यावश्यक खाद्यान्न तथा गैरखाद्यान्न सामग्री वितरण गरेको थियो।
विपद्को संकटपूर्ण समयमा मानवीय भावना, सेवा र बन्धुत्वको उदाहरण प्रस्तुत गर्दै राहत कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै क्लबको प्रशंसा गरिएको छ। आयोजक संस्थाका अनुसार यस्ता सामाजिक अभियानले संकटको समयमा पीडितलाई तत्काल राहत पुर्याउन सहयोग पुग्ने गर्दछ।
कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले आगामी दिनमा पनि मानव सेवामा आधारित यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक संघ–संस्थाहरूको सहकार्यले मात्र विपद् व्यवस्थापन प्रभावकारी हुने बताए।































