जाडोयाममा चल्ने शीतलहर तराईका लागि प्रकोप बन्न थालेको छ । चिसो पानी मिश्रित लहरको बेगले प्रत्येक वर्ष जस्तै अहिले पनि तराईलाई आक्रान्त बनाएको छ । हिमाली क्षेत्रमा र कतै पहाडी भागमा पनि यो बेला हिउँ परेर मानव जीवन कष्टकर बनेको छ । प्राकृतिक तथा स्वभाविक यो प्रक्रियालाई रोक्ने, छेक्ने र थुन्ने कुनै उपाय पनि हुँदैन । शीतलहरले प्रत्येक वर्ष ज्यान जाने गरेको उदाहरणहरु छन् त्यसैले अकाल मृत्युबाट जोगिन मानिसले नै उपाय गर्नुपर्छ । गर्मीमा चल्ने तातो हावा ‘लु’ जस्तै चिसो मौसममा चल्ने शीतलहरबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ र चिसोबाट सुरक्षित हुन तापक्रम बढाउने साधनको प्रयोग गर्नुपर्छ । खासगरी ग्रामीण क्षेत्रका, विपन्न वर्गका लागि यो अभिशाप हुने गरेको छ ।

उखान नै प्रचलित छ हामीकहाँ ‘लुरे ल्याङ्ग्रा माघलाई’ । पुसको तेस्रो हप्ताले प्रवेश गर्दैगर्दा हुस्सु, कुहिरो र शीतलहरले सूर्यको प्रकाशलाई छेकिसकेको छ । यस्तो बेला वृद्धवृद्धा, केटाकेटी, रोगी तथा गरिबीमा रहेका परिवारमा शीतलहर नै सबैभन्दा ठूलो विपद् बन्छ । गरिबीमा विपद् पनि पहाड बनेर उभिने गरेको छ, त्यसैले यस्तो वर्गलाई सुरक्षित राख्ने उपायको अख्तियार गर्नु सरकारको कर्तव्य हुन्छ । सरकारले यस्तै सम्भावित विपद् र जोखिमबाट जोगाउन राहत वितरणका साथै न्यानो कपडा, दाउरा वितरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस्तो कार्यमा स्थानीय सरकारको अग्रसरता र सहकार्य आवश्यक छ । शीतलहरबाट पशुपन्छी, हिउँदे खेती–बाली समेत प्रभावित हुने गरेको छ, तर मानव स्वास्थ्यको संरक्षण गर्नु सरकारको प्रमुख दायित्व हो ।
शीतलहरबाट बच्न शरीरको तापक्रमलाई सामान्य बनाउनुपर्छ । यसका लागि न्यानो कपडा लगाउनुपर्छ, पर्याप्त मात्रामा तातो पानी पिउनुपर्छ, तर क्षमता नभएका गरीबहरुले यसका स्रोत जुटाउन सक्दैनन् । घरपालुवा पशुपन्छी र खेतीबाली जोगाउन पनि त्यति सहज छैन । यस्तोमा मानव स्वास्थ्यको क्षति कम गर्न त्यति असहज छैन । थोरै पनि मानवीय चेत र सद्भावले विपन्न वर्गलाई राहत हुनसक्छ । व्यक्ति, संस्था र सरकारले सहयोग गरेर दाउरा वितरण गर्ने, समूहमा दाउरा बालिदिने, न्यानो कपडा वितरण गरेर शीतलहरको कहरबाट सुरक्षित गर्न सकिन्छ । बर्सेनि विपद् बनेर आउने शीतलहरको जोखिम कम गर्न सरकारले पूर्व तयारीमा स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्छ । त्यसका लागि प्रदेश सरकारलाई पनि सहयोग, समन्वय र प्रोत्साहन गर्नुपर्छ । यसले मात्र खासगरी तराईलाई शीतलहरको जोखिमबाट सुरक्षित गर्न मद्दत पुग्नेछ ।


























