३५ औँ स्थापना दिवस मनाउँदै प्याब्सन झापा

0
108

सुरेन्द्र भण्डारी

  • ४ हजार २२७ विद्यार्थीको प्रतिभा छनोट गर्दै उत्कृष्टलाई सम्मान

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० झापाले आगामी पुस २४ गते ३५ औँ स्थापना दिवसका अवसरमा योगदान र विशिष्टताका आधारमा जिल्लाभरिका तीन जना संस्थापक प्रिन्सिपलसहित उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने भएको छ ।

प्याब्सन दिवसका अवसरमा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा जिल्ला स्तरीय सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रमको समन्वय बिर्तामोड नगर प्याब्सनले गरिरहेको छ । सोमबार प्याब्सन झापाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिइएको हो ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले प्याब्सन दिवसका अवसरमा जिल्ला स्तरीय सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य तथा विभिन्न वर्गका गायन प्रतियोगिता समावेश गरिने जानकारी दिए । उनका अनुसार कक्षा ११ र १२ का विद्यार्थीले प्रस्तुत गर्ने गायन तथा १२ वर्षमुनि र १२ वर्षमाथिका प्रतियोगीहरूको प्रस्तुति कार्यक्रमका प्रमुख आकर्षण हुनेछन् ।

अध्यक्ष कार्कीका अनुसार योगदान तथा विशिष्टताका आधारमा संस्थापक प्रिन्सिपलतर्फ विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय, अर्जुनधारालाई सम्मान गरिनेछ । त्यस्तै, मरणोपरान्त संस्थापक सम्मानतर्फ टावर टेम्पल अंग्रेजी विद्यालय, बिर्तामोडका संस्थापक प्रिन्सिपल स्व। नरेशमान धिमाललाई सम्मान गरिनेछ ।

अविच्छिन्न रूपमा कार्यरत शिक्षकका रूपमा हरिकुल नमुना माध्यमिक विद्यालय, कनकाईका मुक्ति दाहाललाई पुरस्कृत गरिनेछ । यसैगरी उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना सञ्चारकर्मीलाई पनि सम्मान गरिने अध्यक्ष कार्कीले बताए ।

एसईई परीक्षा २०८१ मा ४ जि.पी.ए. प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिनेछ । सम्मानित हुने विद्यार्थीहरूमा प्रज्ञा एकेडेमी, भद्रपुरकी मिन कुमारी दास, नेशनल मेरीगोल्ड स्कूल, भद्रपुरका प्रनिल सत्याल, बाल्मिकी एजुकेशन फाउण्डेशन, बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल, माउन्ट एभरेष्ट विद्यालय, गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूल, गौरादहका कुशल लिम्बू, हेमन्त राजवंशी, मुना पाण्डे र रोशिका राजवंशी रहेका छन् ।

त्यसैगरी नमुना अंग्रेजी विद्यालय, गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटा, पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकेडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, गौरीगञ्जकी सलिना कार्कीलाई पनि सम्मान गरिने प्याब्सन झापाले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले प्याब्सन झापाले वार्षिक क्यालेन्डरअनुसार जिल्लाभर विविध कार्यक्रम गर्दै आएको र सोही तालिकाअनुसार ‘प्याब्सन डे’ मनाउन लागिएको बताए । उनका अनुसार पालिकागत सांस्कृतिक कार्यक्रम मंसिर २२ गते गौरीगञ्ज गाउँपालिकाबाट सुरु भई पुस ६ गते दमक नगरपालिकामा आएर सम्पन्न भएको हो । सबै पालिकाबाट प्रथम स्थान हासिल गर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराई पुरस्कृत गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

निजी विद्यालयका विद्यार्थीहरूलाई घोकन्ते शिक्षामा मात्र जोड दिइन्छ भन्ने आरोपलाई चिर्दै विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभाको पहिचान गरी गायन, नृत्यलगायत सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पाठकले बताए । समाजमा लुकेर रहेका कला र संस्कृतिको पहिचान तथा प्रवर्द्धन गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

प्याब्सन झापाका सचिव लक्ष्मी उप्रेतीले १४ वटा पालिकामा यसअघि सञ्चालन गरिएको पालिका स्तरीय कार्यक्रममा पाँच विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको र त्यसमा उत्कृष्ट भएका विद्यार्थीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए । विभिन्न जातजाति, धर्म, संस्कार, भेषभूषा झल्कने सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य तथा गायन विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेको उनले बताए । उप्रेतीका अनुसार पालिका स्तरीय प्रतियोगितामा ४ हजार २२७ जना विद्यार्थीले मञ्चमा उक्लिएर प्रतिभा प्रदर्शन गरेका थिए ।

जिल्ला स्तरीय कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी लिएको बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेलले कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । कार्यक्रम सफल बनाउन विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक तथा शुभेच्छुक सबैलाई सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

कार्यक्रमका लागि अलस्का अटोमोबाइल्स प्रा.लि. मुख्य प्रायोजक रहेको छ । कंगारु एजुकेशन फाउण्डेशन, बीएण्डसी अस्पताल तथा पब्लिकेशनको तर्फबाट पनि सहयोग रहने खरेलले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सात लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । मुख्य प्रायोजक अलस्का अटोमोबाइल्स प्रा।लि।को तर्फबाट सञ्जीव ओलीले सहमतिपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here