सुन्दरहरैचा (मोरङ),

सुनसरीको इटहरीमा लामो समयदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका दुई महिला सञ्चारकर्मी भुमिका रसाइली र स्मारिका राई ले संयुक्त रूपमा ‘हाम्रो अर्गानिक मार्ट’ सञ्चालनमा ल्याएका छन्।
इटहरी उपमहानगरपालिका–आइतबारे क्षेत्रस्थित इलाइट सिने हट नजिकैको पाथिभरा टोलमा रहेको उक्त मार्ट पुस १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। पत्रकारितासँगै उद्यमशीलताको नयाँ यात्रा सुरु गरेका यी दुई सञ्चारकर्मीले स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गर्दै शुद्ध अर्गानिक सामग्री उपलब्ध गराउने उद्देश्य राखेका छन्।
‘हाम्रो अर्गानिक मार्ट’मा पहाडी तथा ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक सुकुटी, माछा, गहुँ, कोदो, फापर, सुन्तला, घिउ, कालो दाल, मस्यामको दाल, मह, गहतको दाल, राजमा दाल, कालो तिल, साथै मसुरो, मुग, चना, सोयाबिन, तोरी, तिल लगायतका खाद्यान्न उपलब्ध छन्।
यसैगरी, सोलुखुम्बु क्षेत्रबाट ल्याइने टिम्बुर, जिम्बु, किम्मीस्, तथा अर्गानिक सागपात (पालुङ्गो, तोरी साग आदि) समेत मार्टमा बिक्रीका लागि राखिएको छ। मार्ट सञ्चालिका भुमिका रसाइलीका अनुसार, “केही फरक र सकारात्मक काम गर्न सकिन्छ भन्ने सोचका साथ इटहरीलाई कर्मथलो बनाएर अर्गानिक उत्पादनको बिक्री तथा वितरण सुरु गरेका हौं।
शुद्ध, स्वास्थ्यकर र भरपर्दो अर्गानिक खानेकुरा उपभोक्तासम्म पुर्याउने हाम्रो मुख्य उद्देश्य हो।”इटहरीलाई कर्मक्षेत्र बनाउँदै विगतदेखि नै सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका भुमिका रसाइली र स्मारिका राईले पत्रकारितासँगै उद्यमशीलताको माध्यमबाट स्थानीय अर्गानिक उत्पादनको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिएका छन्।
स्थानीय उपभोक्ताले पनि शुद्ध र अर्गानिक खाद्यान्न सहज रूपमा पाउन थालेपछि ‘हाम्रो अर्गानिक मार्ट’प्रति आकर्षण बढ्दै गएको सञ्चालकहरूको भनाइ रहेको छ।






























