२८६२औं सोनाम ल्होछारमा ‘नेताघेसं’ अर्जुनधाराको विविध कार्यक्रम

0
31
अर्जुनधारा, आगामी माघ ५ गते पर्ने २८६२औं सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा नगर समितिले विविध कार्यक्रम गर्ने भएको छ ।
अर्जुनधारा नगरपालिका–१ मदनपुरस्थित सांस्कृतिक खेलमैदानको प्राङ्गणमा संघद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बारे जानकारी दिइएको हो ।
संघले माघ ३, ४ र ५ गते भेट्रान फुटबलको प्रबद्र्धनसँगै पूर्व खेलाडीहरुको पुर्नमिलन गर्ने उद्देश्यले खुला क्लबस्तरिय नकआउट भेट्रान फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको संघका सहसचिव धनबहादुर तामाङले जानकारी दिए ।
स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा आयोजकसहित धुलाबारी भेट्रान्स फुटबल क्लब(मेचीनगर), दुधे भेट्रान्स फुटबल क्लब(शिवसताक्षी), बुट्टाबारी भेट्रान्स फुटबल क्लब   (बिर्तामोड), सैनिक भेट्रान्स फुटबल क्लब(बिर्तामोड), खुदुनाबारी भेट्रान्स फुटबल क्लब     (अर्जुनधारा), बिर्तामोड भेट्रान्स फुटबल क्लब(बिर्तामोड) र वसन्त–थाक्ले भेट्रान्स फुटबल क्लब(माई)को सहभागीता रहने बताइएको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश ४० हजार र २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी संघले माघ १० गते अर्जुनधारा–३ कैदलेस्थित ड्रुक नोर्बु छयोलिङ गुम्बाको स्तरोन्नती गर्ने उद्देश्यले गुम्बा प्राङ्गणमा वृहत सांस्कृतिक कार्यक्रमसहितको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष वृखबहादुर गोलेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय कलाकारद्वय प्रिती आले र विशाल थिङसहित स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ । त्यस्तै कार्यक्रममा तामाङ समुदायबाट प्रतिनिधित्व गर्ने एक जना कर्मचारीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गोलेले जानकारी दिए ।
संघले सञ्चालन गर्ने सबै कार्यक्रम सम्पन्न गर्न अनुमानित आठ लाख २० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ । उक्त खर्चको स्रोत अर्जुनधारा नगरपालिका, विभिन्न दातृ संघ–संस्था, दाता महानुभाव र संघका सदस्यहरुसँग घरदैलो कार्यक्रममार्फत् संकलन गर्ने आयोजकको लक्ष्य रहेको छ ।
संघका अध्यक्ष गोलेको अध्यक्षता र अर्जुनधारा नगर कार्यपालिकाकी सदस्य चन्द्रमाया तामाङको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्तालन सचिव निरामाया तामाङले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here