मकर संक्रान्ति र यसको महत्व

0
13

माघे संक्रान्ति मकर राशिमा सूर्य प्रवेश गरेको पहिलो दिन भएकाले यो दिनलाई माघे संक्रान्ति पर्वका रुपमा लिइएको हो । यस संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यस समयमा माघ नक्षत्रमा पूर्णिमा पर्ने महिना भएको हुनाले अर्थात् चन्द्रमान अनुसार माघ नक्षत्रबाट यो महिना शुरु हुने भएकाले माघ नक्षत्रको नामबाट यो दिनलाई मकर संक्रान्ति भनिएको हो । यसै दिनदेखि सूर्य दक्षिणायणबाट उत्तरायणतर्फ प्रवेश गर्ने क्रम आरम्भ हुने गर्दछ । यही दिनदेखि पृथ्वीको गोलाद्र्धमा सूर्य उत्तरतर्फ ढल्किन पुगी मकर रेखाबाट उत्तरतर्फ लाग्ने गर्दछ । सूर्य उत्तरायणतर्फ लाग्ना साथ रात छोटो र दिन लामो हुँदै जाने, जाडो कम हुँदै जाने गर्छ, रुख विरुवामा नयाँ पालुवा पलाउने क्रम शुरु हुन्छ ।

मकर संक्रान्ति पर्वलाई तिल संक्रान्तिका रुपमा पनि लिने गरेको पाइन्छ । सूर्य एक राशिबाट अर्को राशिमा जानु वा प्रवेश गर्नु मकर संक्रान्ति हो । मकर राशिको नामबाट यसको नाम जुरेको हो । मकर संक्रान्तिमा सूर्य उत्तरायण हुन्छ । मकर संक्रान्तिलाई नेवार जातिले घ्यः चाकु संल्हु भन्ने गर्छन् । नेवार समुदायमा विशेष खानेकुराको रुपमा यो संक्रान्ति (संल्हु) मा घ्यू, चाकु खाने गर्छन् । विशेष खाद्य वस्तुको नामबाट नै यो पर्वको नाम घ्यः चाकु संल्हु रहेको छ । चाकुमा तिल राखी लड्डु बनाई खाने र दान दिने गर्छन् । यो पर्वमा देवीदेवताको पूजा गर्नुका साथै आ–आफ्ना पुरोहितकहाँ गई विभिन्न खाद्यवस्तुहरु राखी सीधा दिन जाने चलन पनि छ । मकर संक्रान्तिमा पाटनको अग्निशालामा होम गर्न जानेको घुइँचो नै लाग्ने गर्छ । यसका लागि मानिसहरुले तिल, जौं, घ्यू, चाकु, तरुल, चिउरा आदि लगी होम गराई, त्यस अग्निशालाको पुजारी वा अग्निहोत्रीलाई सिदा दान पनि गर्ने गर्छन् ।

मकर संक्रान्तिले सामाजिक एकता र सद्भावना बढाउँछ। घरआँगनमा मीठो(मीठो खाना बनाएर छिमेकी र आफन्तसँग बाँड्ने, राम्रो सम्बन्ध कायम राख्ने र गलत बिस्तारै त्याग्ने सन्देश यो पर्वले दिन्छ। घृत (घी) र चिनी खाने प्रथाले मनमा मिठोपन र शब्दमा मैत्री झल्काउँछ। माघे संक्रान्तिमा तिलको होम, दान तथा खानाले वा उपभोग गर्नाले त्यो व्यक्ति कहिले असफल हुँदैन भन्ने धारणा रहेको पाइन्छ । उक्त दिन नदीको दोभानमा गई शुद्ध भई सीधा दान गर्नाले पुण्य हुन्छ र रोगव्याधि लाग्दैन भन्ने पनि धारणा छ ।

कोही–कोहीले भने घरमै पूजाको काम सकिएपछि केही नखाई मक्कलमा आगो बाली सबभन्दा पहिला माछा (संन्या) होम गर्ने गर्छन् । माछा होम गर्नाले शत्रु नाश हुन्छ भन्ने धारणा पाइन्छ । त्यसपछि तिल, चाकु, घ्यू, तरुल होम गर्ने गर्छन् । पूजाको काम सकिएपछि घ्यू, चाकु तिलको लड्डु राखी घरका सबै परिवार बसी प्रसादको रुपमा ग्रहण गर्ने गर्छन् । त्यसपछि बिहानको खानामा भात, मासको दाल वा मासको खिचडी बनाई त्यसमा घ्यू, चाकु झानेर यसका साथै अरु विभिन्न परिकार राखेर खाने गरिन्छ । बेलुका समयबजी वा भोज खान्छन् ।

माघे संक्रान्तिमा दिउँसो आमा हुनेहरुले आमाको हातबाट टाउकोमा तेल लगाइदिने र कानभित्र तेल हाल्ने चलन छ । अनि घाममा बसी तेल घस्ने पनि प्रचलन छ । यस अवसरमा बिहे भइसकेका छोरीहरु आमाको हातबाट तेल लगाउन माइत आउने गर्छन् । बिहे भइसकेकी छोरीको सन्तान भएको छैन भने लोग्नेको घरमा घ्यू, चाकु खानु हुँदैन भनी माइत जाने चलन छ । यदि माइत गइएन भने अरु परिकारहरु खाए पनि घ्यू, चाकु खाइँदैन । तर कसै–कसैको भने माइतीबाट लोग्नेको घरमा घ्यू, चाकु दिएर पठाउने चलन पनि छ ।

मकर संक्रान्ति वा घ्यः चाकु संल्हुको दिन धार्मिक दृष्टिले मात्र होइन कि वैज्ञानिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । धार्मिक रुपले हेर्ने हो भने यस दिनमा यदि कुनै पनि मानिसले घर एवं शरीर शुद्ध गरेन भने सात जन्मसम्म पनि निर्धन एवं रोगी हुन्छ भन्ने मान्यता पाइन्छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने यस पर्वमा गरिने सम्पूर्ण कार्य मानिसहरुको शरीर स्वस्थ एवं निरोगी बनाउन गरिने देखिन्छ । जुन मानिसको शरीरलाई बाह्य तापक्रम र आन्तरिक तापक्रम मिलाउनका लागि गरिएको वा अझ भनौं भने शरीरको तापक्रम सन्तुलन वा एकनास राख्न गरिएको देखिन्छ । यो कार्य शरीर स्वस्थ राख्न अति आवश्यक छ ।
त्यस्तै आन्तरिक रुपले शक्ति प्राप्त गर्न विभिन्न शक्ति प्रदान गर्ने परिकारहरु तथा प्रोटिनयुक्त खानेकुरा विशेषगरी घ्यू, चाकु र अरु परिकारहरु तरुल, पालुङ्गो, मास, तिलका साथै मासुजस्ता कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, फलाम, क्याल्सियमजस्ता शरीरलाई अति आवश्यक पौष्टिक तत्वहरुको उपभोग गरी आफ्नो शरीर तन्दुरुस्त गर्ने पनि चलन छ ।

यस माघे संक्रान्तिको दिन विशेषतः झापाको कनकाई माईमा माई मेला लाग्ने गर्छ भने इलाममा पनि माइबेनी मेला लाग्ने गर्छ । त्यस्तै महाकाली, सप्तकोशी, सप्तगण्डकीका किनारका देवस्थल, घाट, दोभान र त्रिवेणीहरुमा सानाठूला मेला लाग्दछन् । काठमाडौं उपत्यकामा ललितपुरमा शङ्खमूल (बाग्मती र मनोहराको दोभान)मा ठूलो मेला लाग्छ । यसै दिन एकथरी धर्मनिष्ष्ठ श्रद्धालुहरु मेला भर्न भनेर रिडी, त्रिवेणी, वराहक्षेत्र, काशी, प्रयाग र गङ्गासागरसम्म पनि पुग्छन् ।

धेरैजसो भक्तजनहरु देवघाटमा जम्मा हुने गर्दछन् । वेद, र पुराणहरुमा उल्लेख भए अनुसार कपुलह, वशिष्ठ, कश्यप, विश्वामित्र जस्ता आदि ऋषिमुनिले तपस्या गरेको तपोभूमि देवघाटमा मकर (माघे) संक्रान्ति जस्ता विशेष पर्वमा लाखौंको संख्यामा हिन्दु धर्मावलम्बीको भीड लाग्ने गर्दछ । यस दिन देवघाटमा आई स्नान, दानपात्र, व्रतबन्ध, विवाह, तपस्या आदि पुण्यकार्य गर्नाले अन्यत्र यस्ता कार्यहरु गरेको भन्दा हजार गुना बढी फल प्राप्त हुने, मनोकामना पूरा हुने, मोक्ष प्राप्त हुने र पितृहरुको समेत उद्धार हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

यस दिन तिलको विशेष महत्व छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्दछ त्यो व्यक्ति सफल हुन्छ भन्ने धार्मिक विश्वास छ । साथै यस दिन तिलको तेल जीउमा घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ । शरीरको सम्पूर्ण दूषित पदार्थ बाहिर निस्कन्छ र शरीर स्वस्थ रहन्छ भन्ने कुरा धर्मशास्त्रमा समेत उल्लेख गरिएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here