देश निर्वाचनमय भइरहेको बेला नेपाली कांग्रेसभित्रको अन्तरद्वन्द्व भने उत्कर्षमा पुगेको छ । देशकै सबैभन्दा ठूलो र लामो इतिहास बोकेको प्रजातन्त्रवादी पार्टीभित्रको विवाद र अन्तरद्वन्द्वले आगामी निर्वाचन प्रभावित हुने आंकलन गर्न थालिएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र विद्रोहपछि त्यसको मर्म, भावना र अपेक्षालाई समेट्न निर्वाचन अघि पार्टीलाई परिमार्जित गर्दै लान जरुरी थियो । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले त्यही उद्देश्यका खातिर विशेष महाधिवेशनको प्रस्ताव गरे । तर, सभापति शेरबहादुर देउवा लगायत संस्थापन पक्ष त्यसका लागि सहमत भएन । परिणाम स्वरुप महामन्त्रीहरुकै सक्रियतामा विशेष महाधिवेशन आह्वान गरियो र विवाद उत्कर्षमा पुगेको छ ।

त्यसो त देशका ठूला दल कांग्रेस र एमाले जेन–जी विद्रोहपछि सबैभन्दा बढी प्रभावित भए । विद्रोहकै बलमा सत्ता गुमाउनु परेको बेला कांग्रेसभित्रको द्वन्द्वले पार्टी टुक्रिने हो कि भन्ने आशंका पनि जन्मायो । पार्टीभित्रको विवाद यथास्थिति परिमार्जन भन्ने विषयमै केन्द्रीत थियो । कांग्रेसका पछिल्लो पुस्ताका नेताहरुले मुख्यगरी सुशासन, भ्रष्टाचारमुक्त व्यवस्थाको अन्त्य एवम् पार्टीमा आमूल परिवर्तनको आवश्यकतालाई आत्मसात गरेका छन् । उनीहरु विगतका भ्रष्ट र दोषीलाई लिएर निर्वाचनमा जान हुँदैन भन्छन् । त्यही भाव र दवावले विशेष महाधिवेशनको परिस्थिति निर्माण गरेको हुन सक्छ । हुन पनि यथास्थितिमा निर्वाचनमा जानु पुराना दलहरुकै लागि घातक हुन्छ । त्यसकारण पनि इतिहास बोकेको नेपाली कांग्रेसले आउँदो निर्वाचनमा नयाँ, युवा, स्वच्छ छवि बनाएका र योग्य व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ । नाम जस्तै व्यवहार पनि प्रजातान्त्रिक बनाएर जनभावना र समयको आवश्यकतालाई अनुभूत गर्न सक्नुपर्छ ।
दुई दिनका लागि आह्वान गरिएको विशेष अधिवेशन संस्थापन पक्षको पनि नियमित महाधिवेशन पक्षबीचको विवाद छलफल र वार्तामा पुगेको छ । यसका कारण विशेष महाधिवेशन लम्ब्याएर सहमति खोज्ने प्रयास भइरहेको छ । फुटतर्फ उन्मुख नेपाली कांग्रेसलाई फुट्नबाट जोगाउँदै एकताबद्ध राख्नु देशकै हितमा हुन्छ । संस्थापन पक्षले विगतका कामहरुको आत्ममूल्यांकन र समीक्षा गर्दै सम्भावित चुनौतीको सामना गर्ने एकता सञ्चय गर्नुपर्छ । वर्तमान परिस्थिति नेपाली कांग्रेसका लागि नयाँ अवसर पनि हो, जसलाई सदुपयोग गर्दै इतिहासलाई कायम राख्नु पर्दछ । एकतामै बल हुन्छ यो सत्यलाई आत्मसात गरी निर्वाचनको यज्ञ पूरा गर्नुपर्छ ।




























