गुणस्तरीय शिक्षामा हिमाली एजुकेशन फाउण्डेशनको १९ वर्ष

0
12
  • सिर्जनशील कक्षाबाट संस्कारयुक्त नागरिक निर्माणमा जोड

झापा, शैक्षिक गुणस्तर, अनुशासन र सिर्जनशीलता विकासलाई मूल मन्त्र बनाउँदै अघि बढिरहेको हिमाली एजुकेशन फाउण्डेशनले १९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ।
झापाको अर्जुनधारा नगरपालिका–६ मा सञ्चालनमा रहेको फाउण्डेशनले बुधबार विद्यालयको वार्षिकोत्सव समारोह आयोजना गर्दै बालमैत्री शिक्षादेखि जीवनोपयोगी सीपसम्मको अभ्यासलाई सार्वजनिक रूपमा प्रस्तुत गरेको हो।
विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरि बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै कुँवरले पाठ्यपुस्तकमा सीमित शिक्षा भन्दा बाहिर गएर विद्यार्थीको प्रतिभा, आत्मविश्वास र नैतिक मूल्य विकासमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
वार्षिकोत्सव समारोहमा नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूले गायन, नृत्य, कविता, भाषण र वक्तृत्वकला प्रस्तुत गर्दै कक्षाकोठामा सिकेका सीपलाई मञ्चमा उतारे। विद्यार्थीहरूको प्रस्तुतीले अभिभावक र अतिथिहरूलाई उत्साहित बनाएको थियो।
विद्यालयकी प्रिन्सिपल शान्ता गिरीले स्वागत मन्तव्य दिँदै विद्यालयले शैक्षिक उपलब्धिसँगै अनुशासन, संस्कार र नेतृत्व विकासलाई समान प्राथमिकतामा राख्दै आएको बताइन्। कार्यक्रम सञ्चालन शिक्षक वासुदेव वराल र विद्यार्थी मनिष बुढाथोकीसहितको टोलीले गरेका थिए। 

सोही अवसरमा शैक्षिक गतिविधिमा वर्षभरि उत्कृष्ट योगदान पु¥याएको भन्दै शिक्षक मलिना शेर्मालाई ‘उत्कृष्ट शिक्षक’ घोषित गर्दै नगदसहित सम्मान गरिएको थियो। यस्तै, अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने मनिष बुढाथोकीलाई ‘स्टुडेन्ट अफ द इयर’ घोषणा गरिएको छ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतम, अभिभावक संघका अध्यक्ष यामप्रसाद तिम्सिना, नेपाल दशनामी समाज कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, दशनामी युवा समिति झापा संयोजक प्रजित पुरी, विद्यालयका भाइस प्रिन्सिपल ठाकुर राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
हाल कक्षा ९ सम्म अध्यापन हुँदै आएको हिमाली एजुकेशन फाउण्डेशनमा ३८० विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको संस्थापक अध्यक्ष गिरीले जानकारी दिए। उनले आगामी दिनमा प्रविधिमैत्री कक्षा, सह–पाठ्यक्रम गतिविधि विस्तार र गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउने योजना रहेको उल्लेख गरे।
वार्षिकोत्सव समारोहमा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र बालमैत्री शिक्षाप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here