झापा, झापाको बिर्तामोडबाट भारतको राजस्थानस्थित प्रसिद्ध श्रीश्याम मन्दिर खाटु धामसम्म नेपालकै पहिलो एकल पैदल धार्मिक यात्रा सुरु भएको छ ।
बिर्तामोड ५ स्थित श्री बालाजी धाम दिनेश अग्रवालले कुनै सहयात्री बिना १७२० किलोमिटर लामो पदयात्रा औपचारिक रूपमा बुधवारबाट प्रारम्भ गरेका हुन् ।
धार्मिक आस्था, आत्मअनुशासन र दृढ संकल्पको उदाहरणका रूपमा हेरिएको यस यात्राको अवधि ४५ देखि ५० दिन रहने अनुमान गरिएको छ ।
अग्रवालले दैनिक करिब ४० किलोमिटर पैदल हिँड्ने लक्ष्य राखेक छन् । मौसम, भूगोल र परिस्थितिअनुसार यात्राको गति र विश्राम तय गर्दै अघि बढ्ने योजना रहेको उनको भनाइ छ । यात्राका क्रममा कही खाली खुट्टा त काँही कपडाको जुत्ता प्रयोग गरिने बताइएको छ ।
लामो दूरी, फरक–फरक भौगोलिक बनावट र मौसमका चुनौतीबीच पनि भक्तिभाव र आत्मबललाई मूल आधार बनाउँदै यात्रा निरन्तरता दिने दृढता अग्रवालले व्यक्त गरेका छन् । ‘यो यात्रा केवल गन्तव्यमा पुग्ने मात्र होइन, आत्मअनुशासन र धैर्यको साधना पनि हो ’ पैदलयात्रा शुरुवातीका क्रममा सञ्चारकर्मीसंगको सक्षिप्त कुराकानीका क्रममा उनले भने ।
यस ऐतिहासिक एकल पदयात्राका क्रममा अग्रवालको खाने–बस्ने व्यवस्था नेपाल तथा भारतका विभिन्न स्थानमा रहेका श्याम भक्तहरूले स्वस्फूर्त रूपमा मिलाउने बताइएको छ । भक्तजनहरूको सहयोग, सद्भाव र आस्थाले यात्रालाई सहज बनाउने विश्वास लिइएको छ ।
धार्मिक दृष्टिले महत्वपूर्ण मानिने खाटु धामसम्मको यो पदयात्रा व्यक्तिगत साधनामा सीमित नरही नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई थप मजबुत बनाउने सन्देशका रूपमा पनि हेरिएको छ ।
सीमापार आस्थाको निरन्तरता र भक्तजनबीचको भावनात्मक सम्बन्धलाई उजागर गर्ने यात्राका रूपमा यसलाई अथ्र्याइएको छ ।
यात्रा सफलताको कामना गर्दै स्थानीयवासी, धार्मिक संघसंस्था, श्याम भक्त तथा शुभेच्छुकहरूले अग्रवाललाई शुभकामना दिएका छन् । आस्था र धैर्यको यो यात्राले आगामी दिनमा धार्मिक पर्यटन र पदयात्राप्रति नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ ।






























