राष्ट्रिय योग दिवसको अवसरमा सद्भाव र्‍याली

0
46

झापा,  हरेक वर्ष माघ १ गते मनाइने राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति शिवसताक्षीको आयोजनामा आज पूर्वमध्याह्न जनचेतनामूलक सद्भाव र्‍याली निकालिएको छ। नेपाल सरकारले २०७६ सालमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेसँगै देशभर विविध कार्यक्रमका साथ योग दिवस मनाइँदै आएको छ।

छैटौँ राष्ट्रिय योग दिवसका अवसरमा आयोजित र्‍याली झिलझिले माध्यमिक विद्यालयबाट सुरु भई झिलझिले बजार परिक्रमा गर्दै सब्जी लाइन, शंकरधर चोक हुँदै ढुंगेल चोकमा पुगेर टुंगिएको थियो। योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले निकालिएको र्‍यालीमा योगसम्बन्धी सन्देश अंकित प्लेकार्ड र ब्यानरसहित करिब ८० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले ‘योग गरौँ, स्वस्थ बनौँ’ र ‘स्वास्थ्यको आधार योग’ जस्ता नारा लगाउँदै नगरवासीलाई योग अभ्यासतर्फ आकर्षित गरेका थिए।

पतञ्जलि योग समिति शिवसताक्षीका अध्यक्ष मोहन निरौलाका अनुसार शिवसताक्षी नगरपालिकामा विगत १८ महिनादेखि नियमित योग शिविर सञ्चालन हुँदै आएको छ। “वडा नम्बर ६, ७ र ८ मा दैनिक योग कक्षा सञ्चालन भइरहेका छन्,” उनले भने, “यी शिविरहरूमा करिब १०० जनाको नियमित सहभागिता रहने गरेको छ।”

योग शिविरबाट उल्लेखनीय स्वास्थ्य लाभ पाएको अनुभव सहभागीहरूले सुनाएका छन्। योग साधक दया फुयाल मैनालीले नियमित अभ्यासले आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको बताइन्। “पहिले घुँडा दुख्ने, टाउको भारी हुने र निद्रा नलाग्ने समस्या थियो,” उनले भनिन्, “नियमित योग गर्न थालेपछि ती समस्या धेरै हदसम्म कम भएका छन्। अहिले शरीर हलुका र स्फूर्त महसुस हुन्छ।”

त्यस्तै, सम्झना सापकोटाले योगले शारीरिकसँगै मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको बताइन्। “कामको तनावका कारण चिडचिडापन बढेको थियो,” उनले भनिन्, “नियमित योग अभ्यासले मन शान्त बनाएको छ। आत्मविश्वास पनि बढेको छ।”

परशुराम ढुङ्गानाका अनुसार योगले स्वास्थ्य मात्र होइन, जीवनशैलीमै सुधार ल्याएको छ। “पहिले बिहान ढिलो उठ्थेँ,” उनले भने, “अहिले नियमित समयमै उठेर योग गर्छु। अनुशासन बढेको छ। समुदायका मानिसहरूसँग भेटघाट र आत्मीयता पनि बढेको छ।”

पतञ्जलि योग समिति शिवसताक्षीले योगलाई सबैका लागि आवश्यक जीवनशैलीका रूपमा विकास गर्ने लक्ष्यका साथ नियमित शिविर, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अध्यक्ष निरौलाले योग कुनै धर्म वा समुदायसँग सीमित नभई स्वस्थ जीवनका लागि सबैले अपनाउनुपर्ने अभ्यास भएको उल्लेख गरे।

र्‍याली तथा नियमित शिविरमार्फत नगरवासीमा योगप्रतिको चासो बढ्दै गएको आयोजकको भनाइ छ। समितिले आगामी दिनमा विद्यालय, टोल विकास संस्था र महिला समूहसँग सहकार्य गर्दै योग कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here