- १२ वटा दुर्घटनामा तीनको मृत्यु, ३२ जना घाइते
झापा , माघ १ गते झापामा १२ वटाा सवारी दुर्घटना घएक छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नावालिका छोरी सहित आमाको मृत्यु भयो भने श्रीमानको मृत्युसंगै श्रीमती आइसीयुमा पुगेकी छिन । यि घटनाले जिल्लाको सडक सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । बिर्तामोड, कनकाई, हल्दिबारी, शिवसताक्षी, गौरादह, दमक, भद्रपुर, अर्जुनधारा, बुद्धशान्ति र बाह्रदशीलगायतका स्थानमा भएका १२ वटा सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो भने ३२ जना घाइते भएका छन् ।
बिर्तामोडमा ट्रक–मोटरसाइकल ठक्कर, एकको मृत्यु
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ निवासी ३२ वर्षीय खगेन्द्र मगरको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा उनकी श्रीमती २५ वर्षीया सुकमाया तामाङ गम्भीर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत छिन्। ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेको थियो। फरार ट्रक चालक मकवानपुरगढी–३ निवासी ३० वर्षीय सुनिल न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कनकाईमा बस–पिकअप दुर्घटना, दुईको ज्यान गयो
कनकाई नगरपालिका–३ नयाँबस्तीमा बस र पिकअप ठोक्किँदा डेढ वर्षीया आरुति राजवंशीको अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएकी ४० वर्षीया सुस्मा राजवंशीको पनि उपचारका क्रममा ज्यान गएको छ । उक्त दुर्घटनामा बालबालिका, महिला र पुरुष गरी एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको बीएण्डसी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
यता हल्दिबारी–४ मंगलबारेमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् । शिवसताक्षी–११ झिलझिलेमा अनियन्त्रित मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा ४० वर्षीय तीर्थबहादुर प्रधान घाइते भएका छन् । गौरादह–८ प्रगति चोकमा सिटी सफारी दुर्घटना हुँदा १३ वर्षीया बालिकासहित दुई जना घाइते भएका छन् ।
दमक–१ भित्री सडकमा मोटरसाइकललाई बुलेरो पिकअपले ठक्कर दिँदा १९ वर्षीय अनुभव चौधरी घाइते भएका छन् भने भद्रपुर–८ क्याम्पस मोडमा मोटरसाइकलले पैदलयात्री २१ वर्षीया मिमिसा दाहाललाई ठक्कर दिँदा उनी घाइते भएकी छन्।
अर्जुनधारा–४ रातेखालमा स्कुटी र मोटरसाइकल ठोक्किँदा ६ वर्षीया बालिकासहित तीन जना घाइते भएका छन्। बुद्धशान्ति–१ शान्ति चोकमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन्। बाह्रदशी–४ चकचकीमा मोटरसाइकल दुर्घटनामा २९ वर्षीया लक्ष्मी ताजपुरिया घाइते भएकी छन्। कनकाई–५ चप्रमारी चोकमा अनियन्त्रित मोटरसाइकल दुर्घटनामा दुई युवक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अधिकांश दुर्घटना तीव्र गति, लापरबाही, मापदण्ड विपरीत ओभरटेक र सवारी साधन अनियन्त्रित हुँदा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। फरार रहेका केही सवारी चालकहरूको खोजी भइरहेको र सबै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लगातार भइरहेको दुर्घटनाले झापामा सवारी अनुशासन, ट्राफिक व्यवस्थापनमाथि पश्न उठ्न थालेको छ ।





























