सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा – ५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कूलमा डिजिटल स्मार्ट बोर्डको प्रभावकारी प्रयोगले शिक्षण–सिकाइलाई आधुनिक, सहभागीमूलक र गुणस्तरीय बनाउँदै लागेको छ।
स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठामा दृश्यात्मक, अन्तरक्रियात्मक तथा व्यावहारिक शिक्षण सम्भव भएको छ। यसबाट विद्यार्थीहरूको सहभागिता बढ्नुका साथै बुझाइ सहज भएको पूर्वाञ्चल पब्लिक स्कूलका प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए।
गत बर्ष शिक्षिक सत्र २०८१ साल बाटै ‘डिजी स्कुल’को रुपमा रुपान्तरण गरेको पूर्वाञ्चल पब्लिक स्कूलले कक्षा १ देखि १० सम्मै स्मार्ट कक्षा संचालन भइरहेको प्रिन्सिपल राईले बताए। डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको उनले बताए। डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुलुकको भविष्य निर्माणको आधार पनि रहेको बताउदै उनले प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने बिद्यालयको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।
उनले ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्यसहित स्कूललाई डिजी स्कूलको रुपमा विस्तार गरिएको बताए। यसले विद्यालय प्रशासनलाई पनि डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन मद्दत पुर्याएको जनाएको छ।
साथै,बिद्यालयले स्पा एजुकेसन कन्सलटेन्सीसँग १० वर्षसम्मको सम्झौता गरेर हरेक दिन शिक्षकहरुलाई तालिम दिंदै आएको छ। पूर्वाञ्चल पब्लिक स्कूलमा तालिम प्राप्त अनुभवी शिक्षकहरुबाट अध्यापन हुने गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। यसै बर्ष देखि बिद्यालयले मन्टेश्वोरी कक्षालाई पनि डिजी स्मार्ट कक्षाको रुपमा विकास गरिरहेको बताए।
विद्यालयको अतिरिक्त क्रियाकलाप खेलकुद लगायत अन्य गतिविधि गर्न त्यतिकै ठुलो ग्राउन पनि रहेको छ। पूर्वाञ्चल पब्लिक स्कूलमा अहिले ७ सय भन्दा बढी विद्यार्थी अध्यायनरत छन्।





























