झापा, नेपाली चलचित्र उद्योगमा फरक कथावस्तु लिएर आउन लागेको चलचित्र ‘परिवर्तन’ आगामी माघ ९ गतेदेखि नेपाल तथा विदेशका हलहरूमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
झापा र सीमावर्ती क्षेत्रको यथार्थलाई केन्द्रमा राखिएको यस चलचित्रले समसामयिक राजनीतिक–सामाजिक विषय उठान गर्ने दाबी निर्माण टिमको छ।
चलचित्रका कलाकार तथा निर्माण पक्षले ‘परिवर्तन’ ले नेपाली समाजका संवेदनशील पक्षलाई मनोरञ्जनसँगै प्रस्तुत गर्ने बताउँदै दर्शकलाई हलसम्म पुग्न आग्रह गरेका छन्। नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले कथावस्तु नेपाली जनजीवनसँग नजिक रहेकाले हरेक दर्शकले हेर्नुपर्ने चलचित्र बनेको बताएका छन्।
निर्देशक विजय केरुङका अनुसार ‘परिवर्तन’ केवल एक्सनप्रधान चलचित्र मात्र होइन, यसमा सत्ताको लागि हुने राजनीतिक चलखेल र त्यसले आम मानिसको जीवनमा पार्ने प्रभावलाई पर्दामा उतारिएको छ। एक्सन, सस्पेन्स र सामाजिक सन्देशको संयोजनले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्ने उनको विश्वास छ।
निर्माता दीपक शिवाकोटीले चलचित्र निर्माणमा कुनै सम्झौता नगरिएको उल्लेख गर्दै कथा, प्रस्तुति र प्राविधिक पक्ष सन्तुलित रहेको दाबी गरे। दर्शकको रुचिलाई ध्यानमा राखेर द्वन्द्व दृश्य, पात्रबीचको सम्बन्ध र कथाको गति मिलाइएको उनले बताए।
चलचित्रमा सुशील श्रेष्ठ शक्तिशाली एक्सन भूमिकामा देखिएका छन् भने अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको भूमिकामा प्रस्तुत भएकी छन्। उनीहरूका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको पनि मुख्य भूमिका रहेको छ। झापाका स्थानीय कलाकारहरूको समेत उल्लेख्य सहभागिता रहेको निर्माण पक्षले जनाएको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा बनेको ‘परिवर्तन’ को कथा तथा निर्माण दीपक शिवाकोटीको हो। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।
झापाली कलाकार याम खरेल र गौतम तिवारीले विशेषगरी झापाली दर्शकलाई आफ्नै परिवेश झल्किने चलचित्र भएकाले हलमा पुगेर हेर्न आग्रह गरेका छन्। निर्माण टिमको अपेक्षा अनुसार ‘परिवर्तन’ ले दर्शकको मन जित्दै नेपाली चलचित्रमा नयाँ बहस सिर्जना गर्ने विश्वास गरिएको छ।































