अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको विशेष साधारणसभा आइतबार सम्पन्न भएको छ ।
धाम क्षेत्रको प्राङ्गणमा रहेको श्रवणहलमा समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व जनप्रतिनिधि एवम् दाता खगेन्द्र ढकालले उद्घाटन गरेका थिए ।
समितिले दुई वर्ष अघि खरिद गरेको १० कठ्ठा जमिनको कर छुट प्रक्रियाको कार्यान्वयनलाई सहजिकरण एवम् तत्कालको लागि आवश्यक भएको संस्था नविकरणको प्रक्रियालाई लक्षित गरि विशेष साधारणसभाको आयोजना गरेको समितिका उपाध्यक्ष एवम् कार्यक्रम सञ्चालक अम्बिकाप्रसाद खतिवडाले जानकारी दिए ।
कार्यक्रममा समितिका महासचिव शिवलाल खतिवडाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनोज जोशीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा उल्लेख भएका भावी योजनाहरुमा धामले खरिद गरेको १० कठ्ठा जमिन धाम व्यवस्थापन समितिको नाममा ल्याउने, धाम क्षेत्रमा रहेका दर्शनीय एवम् रमणीय स्थलहरुको पहिचान गरि गुरु योजनामार्फत् धार्मिक सर्किट तयार गर्ने, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजित छ लाख रुपैयाँबाट खुल्ला व्यायामशाला निर्माण गर्ने, धामद्वारा सञ्चालित गुरुकुलको स्तरोन्नती एवम् बटुकहरुको लागि आवास भवन निर्माण गर्ने, गो मुत्र र गोबरको व्यवस्थापन गरेर ग्याँस उत्पादन गर्नेलगायत रहेका छन् ।

त्यसैगरी प्रतिवेदनमा संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी दुई करोड १४ लाख ३८ हजार सात सय ४९ रुपैयाँ ९९ पैसा, जम्मा खर्च एक करोड ७५ लाख ५४ हजार चार सय आठ रुपैयाँ र जम्मा बचत ३८ लाख ८४ हजार तीन सय ४१ रुपैयाँ ९९ पैसा उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा सनातन गौ संरक्षण समिति यूएईले गौ अक्षयकोषको लागि नगद ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकम बरारबको चेक दातृ संस्थाकोतर्फबाट खगेन्द्र निरौला, बिमला सँग्रौला र सीता सँग्रौलाले समितिका अध्यक्ष गट्टानीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका अर्का उपाध्यक्ष भीमचन्द्र भट्टराईले र गुरुकुलका बटुक छत्रपति गुरागाईंले संयुक्तरुपमा स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष खतिवडाले गरेका थिए ।































