क्लबस्तरिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि बुट्टाबारीलाई

0
13

अर्जुनधारा ।

२८६२ औं सोनाम ल्होछारको अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा जारी क्लबस्तरिय भेट्रान फुटबल नकआउट प्रतियोगिताको उपाधि बुट्टाबारी भेट्रान फुटबल क्लबले जितेको छ ।

नेपाल तामाङ घेदुङ संघ अर्जुनधारा नगर समितिको आयोजनामा अर्जुनधारा नगरपालिका–१ मदनपुरस्थित सांस्कृतिक खेलमैदानमा सोमबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा सैनिक भेट्रान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीले उपाधि जितेको हो ।

बुट्टाबारीको जीतका लागि खेलको ९औं मिनेटमा असीत तामाङले निर्णायक गोल गरेका थिए । जीतसँगै विजेता बुट्टाबारीले नगद पुरस्कार ४० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता सैनिकले नगद पुरस्कार २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी विशाल राई(बुट्टाबारी), उत्कृष्ट फरवार्ड दिलेन लोक्ताम(सैनिक), उत्कृष्ट रक्षक गणेश कटुवाल(सैनिक), उत्कृष्ट गोलरक्षक अमित गुरुङ(बुट्टाबारी) र फाइनल खेलको उत्कृष्ट खेलाडी असित तामाङ(बुट्टाबारी) भएका छन् । उनीहरुलाई नगद पुरस्कार क्रमश दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सयसहित ट्रफी प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष वृखकुमार गोलेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्षद्वय उपेन्द्र बस्नेत र खगेन्द्र इङनाम, कार्यपालिका सदस्यद्वय चन्द्रा तामाङ र सन्तोष मेचे, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमलगायतले उक्त पुरस्कारहरु वितरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए । गत माघ २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजकसहित झापा र इलामका आठ टिमको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक विक्रम गोलेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here