जिम्मेवार भूमिकाको खाँचो

0
14

प्रतिनिधिसभाको निर्वाचन नजिक आएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी नब्बे प्रतिशत पूरा भइसकेको जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् भने आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्दैछन् । उम्मेदवारी मनोनयनका काम सम्पन्न भइसकेपछि निर्वाचन आयोगले मतपत्रको डिजाइन स्वीकृत गराएर छपाइ कार्य शुरु गर्ने जनाएको छ । यसअघि राष्ट्रिय सभामा रिक्त रहेको अठाह्र जना सदस्यका लागि परेका उम्मेदवारीमा यही माघ ११ गते निर्वाचन हुने कार्यतालिका रहेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका अनुसार काम नियमित रुप भइरहेको बताएका छन् ।

आसन्न निर्वाचनको तयारीमा आयोगसँगै राजनीतकि दलहरु पनि जुटेका छन् । कार्यतालिका अनुसार माघ ४ गते राति बाह्र बजेदेखि आचारसंहिता लागू भइसकेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहीत बनाउनु सरकारको प्रमुख कर्तव्य हो भने राजनीतकि दल, नागरिक समाजको पनि भूमिका रहन्छ । त्यसबाहेक निर्वाचनलाई भयरहीत बनाउन सुरक्षा संयन्त्रको भूमिका प्रमुख रहन्छ । त्यसका लागि सरकार अझ गृहमन्त्रालयले बढी सक्रियता र जिम्मेवारी निर्वाह गर्नुपर्छ । जेन–जी बिद्रोहपछि सुरक्षा अवस्था बलियो हुँदै गएको सन्दर्भले राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।
झापामा पनि निर्वाचनको तयारी तीब्र पारिएको सरोकारवालाबीच भएको छलफलमा जानकारी दिइएको हो । जिल्ला प्रशासन कार्यालयमा उम्मेदवारी मनोनयन दर्तँ तथा आचारसंहिताको बारेमा आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा पालैपालो मनोनयन दर्ता गर्ने सहमति भएको छ । झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा भएको छलफलमा राजनीतिक दल, सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता थियो ।

देश अब निर्वाचनको मुखमा छ । निर्वाचनले नै स्थिर शासन व्यवस्थाको निर्धारण गर्छ । प्रजातन्त्रको सौन्दर्य पनि निर्वाचन नै हो । तर, त्यसका लागि निर्वाचन निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न हुनुपर्छ । यसो हुन सबै सरोकारवालाको भूमिका स्पष्ट र जिम्मेवार हुनुपर्छ । सरकारी संयन्त्रको दुरुपयोग पैसाको प्रभाव, भ्रामक प्रचार, शक्तिको दम्भ र प्रदर्शनले निर्वाचन दूषित बन्छ । त्यसलाई रोक्न आयोग कठोर हुनुपर्छ र दलहरुमा पनि संयम हुनुपर्छ, निर्वाचन औपचारिकता, सामान्य प्रक्रिया मात्र होइन जनताको विश्वासको परीक्षा पनि हो । त्यसैले सबै दलले आचारसंहिताको पालना गर्दै सबैको सहकार्यमा निर्वाचनलाई देश र जनताको भविष्य निर्माणको आधार तयार गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here