सुरेन्द्र भण्डारी
झापा, हात्तीपाइले रोग उन्मुलन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न झापामा यस वर्षको आमऔषधि सेवन अभियान वुधवारदेखि शुरु भएको छ । कचनकवल गाउँपालिका र झापा गाउँपालिकाबाट औपचारिक रूपमा शुरु भएको अभियान यसपटक जिल्लाका ६ वटा पालिकामा सञ्चालन भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार झापामा अझै हात्तीपाइलेको संक्रमण कायमै रहेकाले लक्षित पालिकामा सामुहिक औषधि सेवन अभियान सञ्चालन गरिएको हो । ‘संक्रमणको दर घट्दै गए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन’– दासले भने– ‘रोगको सर्कुलेसन रोक्न सामुहिक रूपमा औषधि सेवन गराउनु अपरिहार्य छ ।’
यसपटक अभियान कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकामा सञ्चालन गरिएको छ । अभियान अन्तर्गत यी पालिकामा बसोबास गर्ने करिब २ लाख ८२ हजार जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ ।
२२६९ संक्रमित, हाइड्रोसिलको संख्या बढी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिनिधि रवीन्द्र खनियाका अनुसार झापामा हालसम्म २ हजार २ सय ६९ जनामा हात्तीपाइले रोगको संक्रमण पुष्टि भइसकेको छ । ‘संक्रमितमध्ये ८४६ जनामा हात–खुट्टा सुनिने समस्या देखिएको छ भने १ हजार ३५२ जनामा हाइड्रोसिलको लक्षण छ’– खनियाले भने– ‘७१ जनामा दुवै लक्षण देखिएका छन् ।’
स्वास्थ्य कार्यालयका अनुसार झापामा औसत रूपमा प्रत्येक एक हजार जनामा दुई जनामा हात्तीपाइले रोग देखा परेको तथ्याङ्क छ । अझ चिन्ताजनक पक्ष के छ भने अभियान सञ्चालन हुने पालिकामा करिब १ प्रतिशत व्यक्तिले अरूलाई रोग सार्ने अवस्थामा रहेको र १०.५ प्रतिशत व्यक्तिको शरीरमा हात्तीपाइलेको वयस्क परजीवी अझै सक्रिय अवस्थामा रहेको पाइएको छ ।
यही कारणले गर्दा झापालाई अझै उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेर निरन्तर औषधि सेवन अभियान सञ्चालन गर्नुपरेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । बिहीबार जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अनुसार औषधि सेवन गराइने लक्षित जनसंख्या सार्वजनिक गरिएको थियो ।
तथ्याङ्क अनुसार कचनकवल गाउँपालिकामा ४१ हजार १ सय ४९ जना, कनकाई नगरपालिकामा ५२ हजार ९ सय ५४ जना, झापा गाउँपालिकामा ४० हजार ३ जना, बाह्रदशी गाउँपालिकामा ३६ हजार ३ सय ३३ जना, हल्दिबारी गाउँपालिकामा ३१ हजार ५ सय ३१ जना र अर्जुनधारा नगरपालिकामा बाँकी लक्षित जनसंख्यालाई औषधि खुवाइने कार्यक्रम छ । स्वास्थ्यकर्मी, स्वयम्सेवक र स्थानीय जनप्रतिनिधिको सहकार्यमा घर–घर पुगेर औषधि खुवाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा १४औं पटक अभियान, करिब ६ करोड खर्च लाग्ने अनुमान
झापामा यसअघि १३ पटक सामुहिक औषधि सेवन अभियान सञ्चालन भइसकेको छ । यो १४औं पटकको अभियान हो । यसपटक ६ वटा पालिकामा औषधि वितरण, स्वास्थ्यकर्मी परिचालन, तालिम, अनुगमन र प्रचारप्रसारमा करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि राम रोकायले नेपाल सरकारले सन् २०३०सम्ममा हात्तीपाइले रोग पूर्ण रूपमा उन्मुलन गर्ने राष्ट्रिय लक्ष्य लिएको जानकारी दिए । नेपालका ६४ जिल्लामा कहिले–कहिले यो रोगको लक्षण देखिएको थियो’– रोकायले भने– ‘त्यसमध्ये ५७ जिल्लामा रोग उन्मुलन भइसकेको छ । अहिले पाँच जिल्लामा मात्र सक्रिय कार्यक्रम सञ्चालनमा छ भने दुई जिल्लामा रगत सर्वे भइरहेको छ ।’ उनका अनुसार झापा ती सीमित जिल्लामध्ये एक हो जहाँ रोगको सर्कुलेसन अझै रोकिएको छैन ।
शिक्षित समुदाय नै औषधि नखाने
कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार औषधि सेवन अभियानमा सबैभन्दा ठूलो चुनौती शिक्षित समुदायको सहभागिता कम हुनु रहेको देखिएको छ ।
‘अशिक्षित वा ग्रामीण समुदायभन्दा शिक्षितवर्गले नै औषधि नखाने प्रवृत्ति देखिएको छ’– जिल्ला स्वास्थ्य कार्यालयका एक अधिकारीले भने– ‘साइड इफेक्टको डर, अफवाह र लापरवाहीका कारण अभियानको प्रभाव घट्ने जोखिम छ ।’ स्वास्थ्यकर्मीका अनुसार औषधि सेवन नगरेको थोरै समूहले पनि रोगको सर्कुलेसन कायम राख्न सक्ने भएकाले ८० प्रतिशतभन्दा बढी जनसंख्यालाई औषधि खुवाउनु अनिवार्य छ ।
सञ्चारकर्मीको प्रतिबद्धता
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्वअध्यक्ष कृष्ण हुमागाँईंलगायत सञ्चारकर्मीहरूले अभियान सफल बनाउन सञ्चारमाध्यममार्फत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘हात्तीपाइलेजस्तो रोग उन्मूलन गर्न जनचेतना सबैभन्दा महत्वपूर्ण पक्ष हो’– गिरीले भने– ‘सञ्चारकर्मीको भूमिका बिना यो अभियान सफल हुँदैन ।’ कार्यक्रम फेयरमेड, एनएलटी, एनएलपी, द लेप्रोसी मिसन नेपाललगायत संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले गरेका थिए ।
रोग उन्मुलनको अन्तिम चरण
स्वास्थ्य अधिकारीहरूका अनुसार झापा हात्तीपाइले उन्मुलनको अन्तिम चरणमा पुगेको जिल्ला हो । तर, थोरै संक्रमित र औषधि नखाने समूहका कारण लक्ष्य हासिल गर्न चुनौति थपिएको छ ।
‘यो अभियान सफल भयो भने झापालाई पनि निकट भविष्यमै हात्तीपाइले मुक्त जिल्ला घोषणा गर्न सकिन्छ’– प्रमुख दासले भने– ‘सबै नागरिकले औषधि सेवन गरेर साथ दिनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।’ सन् २०३० सम्म देशबाट हात्तीपाइले रोग पूर्ण रूपमा हटाउने राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन झापामा शुरु भएको यो अभियान निर्णायक चरणको परीक्षणका रूपमा हेरिएको छ ।
विदेश जान समेत कडाइ
विभिन्न राष्ट्रले हात्तीपाइले रोग संक्रमित व्यक्तिलाई कामदारका रुपमा लान छाडेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिनिधि खनियाले पछिल्लो समय मलेसियाले तीन जना नेपालीलाई फिर्ता गरेको उल्लेख गरे ।
मलेशियामा स्वास्थ्य परीक्षणका क्रममा हात्तीपाइले रोगको लक्षण देखा परे तुरुन्त त्यस्ता व्यक्तिलाई सम्बन्धित देश फर्काइन्छ– उनले भने– पछिल्लो समय कामको खोजीमा मलेशिया पुगेका तीन जना झापालीलाई मलेशियाले फर्काएको थियो ।






























