पथरी शनिश्चरेमा खानेपानी ट्याङ्कीहरू निर्माण हुँदै

0
23

छविराज ढकाल/ पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं २ बोक्रे चोक र ५ भोटेघुम्तीमा नयाँ खानेपानी ट्याङ्की निर्माण भइरहेका छन्।

दुवै वडामा २० मिटर अग्लो ४ लाख ५० हजार लिटर क्षमताका ओभर ट्यांकीहरू निर्माण भइरहेका हुन्। पहिलो चरणमा वडा नम्बर २ को बोक्रे टोल र वडा नम्बर ५ को भोटेघुम्तीमा यतिबेला धमाधम खानेपानी ओभर ट्याङ्कीको निर्माण भइरहेको छ।

संघीय सरकारको खानेपानी आपूर्ति मन्त्रालय तथा खानेपानी ढल विकास विभागबाट आर्थिक वर्ष २०८१/०८२ को लागि कुल ३५ करोड रुपैयाँ विनियोजन भएकोमा निर-पुरुषोत्तम महावीर जेभी निर्माण व्यवसायी ललितपुरले यि दुई खानेपानी आयोजनाहरू निर्माणका लागि २४ करोड ७२ लाख९९ हजार ५सय८८ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य थालेको हो।

सो कम्पनीले आगामी २०८४ पुस १४ गते सम्ममा निर्माण कार्य सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्नेछ । यि आयोजनाहरू निर्माण सम्पन्नपछि वडा नम्बर १, २ ,३, ५, ६,र ७ का ६ हजार ५सय ५८ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुने पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव महेन्द्र कुमार राईले बताउनु भयो। उहाँका अनुसार हालको साबिक पथरी शनिश्चरे-१ कै पुरानो ट्याङ्की छेउमै अर्को नयाँ ‌ ४५० लिटर क्षमताको २० मिटर अग्लो खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ।

दोस्रो चरणमा बन्ने उक्त आयोजनाका लागि करिब ४० करोड (श्रमदान कटाएर ३२ करोड ६९ लाख ८१ हजार) रुपैयाँ बराबरको बजेट स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा आवश्यक कागजातहरू पेश गरिएको छ।

वडा नम्बर ५ मा निर्माण भइरहेको नयाँ ट्याङ्कीले तत्काललाई १५ सय घरधुरीलाई सेवा प्रदान गर्ने र भविष्यमा हसन्दह, केचना, कीर्तिपुर बजार र अमरदह बजारसम्म सेवा विस्तार गर्ने जनाइएको छ।

हाल पथरी शनिश्चरे वडा नं १ मा २९ वर्षअघि निर्माण भएको २ लाख २५ हजार लिटर क्षमता भएको ट्याङ्की (पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था) ले नै दैनिक २६ लाख लिटर शुद्ध पिउने पानी आपूर्ति गरिरहेको छ।

जनसङ्ख्या र सहरीकरणसँगै अग्ला भवन तथा संरचनाहरू निर्माण भै आपूर्ति गर्न असहज भएको कारण ती समस्याहरूको समाधान तथा खानेपानी बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले आगामी ३० वर्षका लागि हुने गरी वडा नं १, २ र ५ मा तीनवटा ४ सय ५० ट्याङ्की लिटर क्षमताका ट्याङ्की निर्माण गर्ने लक्ष्य सहित कार्य प्रारम्भ गरेको उक्त संस्थाका अध्यक्ष जयबहादुर बिष्टले जनाउनुभयो।

पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था -१/२ले पछिल्लो समय ३४ सय घरधुरीलाई पिउने पानी दिइरहेको छ। अहिलेसम्म पथरी शनिश्चरे वडा नं १ र ४ मा रहेका दुई २ लाख २५ हजार लिटर क्षमताका ट्याङ्कीहरूले पथरी, शनिश्चरे र आसपासका अन्य वडाका वडावासीहरूलाई खानेपानी आपूर्ति गरिरहेका छन्। शनिश्चरे खानेपानी तथा सरसफाई संस्थाले वडा नं ४,९ र१० का स्थानीय जनतालाई खानेपानी आपूर्ति गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here