झापा, । बजार मूल्यभन्दा सस्तो दरमा विभिन्न ब्राण्डका स्तरीय जुत्ता उपलब्ध गराउने उद्देश्यसहित बिर्तामोडको सिटी सेन्टरमा यस वर्ष पनि जुत्ता मेला सुरु भएको छ । ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै सिटी सेन्टरको संयोजनमा तेस्रो वर्ष लगातार जुत्ता मेला आयोजना गरिएको हो ।
माघ ७ गतेदेखि सुरु भएको मेला फागुन १७ गतेसम्म सञ्चालन हुने सिटी सेन्टरले जनाएको छ । आज एक औपचारिक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य निर्मल भट्टराई र बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष रोहित प्रसाईंले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै भट्टराई र वडाध्यक्ष प्रसाईंले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सबैलाई स्वदेशी कम्पनीका जुत्ता खरिद गरी प्रयोग गर्न आग्रह गरे । उनीहरूले यस्ता मेलाले स्थानीय बजारलाई चलायमान बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय सामान सस्तोमा पाउने अवसर सिर्जना गर्ने बताए ।
मेलामा गोल्डस्टार, फस्ट वाकलगायतका स्वदेशी कम्पनीका जुत्तासँगै चिनियाँ र भारतीय कम्पनीका विभिन्न मोडलका जुत्ता उपलब्ध रहेको मेला सञ्चालक सुमन नेपालीले जानकारी दिए । उनका अनुसार मेलामा पुरुष, महिला र बालबालिकाका लागि उपयुक्त जुत्ता भारी छुटमा बिक्री भइरहेको छ ।
जुत्ता मेलामा दैनिक रूपमा ग्राहकको उल्लेख्य भीड देखिएको छ । ग्राहकको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै सिटी सेन्टरले हरेक वर्ष नियमित रूपमा जुत्ता मेला सञ्चालन गर्दै आएको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले बताए । “ग्राहकलाई एउटै स्थानमा धेरै विकल्प र सस्तो मूल्य दिनु नै मेलाको मुख्य उद्देश्य हो,” उनले भने ।
स्थानीय बजारमा चहलपहल बढाउँदै सस्तो र गुणस्तरीय जुत्ता खरिद गर्ने अवसर उपलब्ध गराएको यस मेलाले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप सक्रिय बनाएको व्यवसायीहरू बताउँछन् ।































