झापा, झापाको बचत तथा ऋण सहकारी संघको अध्यक्षमा युवराज गिरी निर्वाचित भएका छन्। संघका अन्य पदहरु सर्वसम्मत चयन भए पनि अध्यक्ष पदमा मतविभाजन भएपछि निर्वाचन गरिएको थियो।
शनिवार (९ गते) बिर्तामोडमा सम्पन्न निर्वाचनमा गिरी ६३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी उपेन्द्रप्रसाद ओलीले ४८ मत प्राप्त गरेका थिए। संघका १३३ मतदाता मध्ये ११२ मत निर्वाचनमा खसेको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए। निर्वाचित अध्यक्ष गिरी यसअघि पतालगंगा साकोसका अध्यक्षसमेत रहिसकेका छन्।
उपाध्यक्ष पदमा यामकुमार चुडाल, महिला उपाध्यक्षमा सुशिला रिजाल, र सचिवमा बिनोद ढकाल सर्वसम्मत चयन भएका छन्। सदस्य पदमा हिमालय प्रकाश लिम्बु कन्दङ्वा, महेश घिमिरे, मित्रलाल खनाल, उमाकान्त आचार्य र संगीता कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। लेखा सुपरिवेक्षण समितिको संयोजकमा जगनाथ भट्टराई, सदस्यमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल सर्वसम्मत चयन भएका छन्।
संघका पदाधिकारीहरुले आगामी दिनमा सहकारीको सेवा विस्तार र सदस्यहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






























