मतदाता परिवर्तनका बाहक

0
9

नेपालका राजनीतिक दलहरु यतिखेर अस्तित्वको महासंग्राममा छन् । यसका लागि दलहरु मात्र होइन निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने दायित्वको निर्वाचन आयोग पनि कार्यतालिकासहित आफ्ना कार्यक्रम सुचारु गरिरहेको छ । त्यसो त आवधिक निर्वाचन प्रत्येक पाँच वर्षमा भइरहने नियमित प्रक्रिया हो । तर, पुराना र झण्डै चार दशकदेखि आलोपालो सत्तामा बसेका दलहरुको स्वार्थकेन्द्रित नीतिका कारण समयअघि नै निर्वाचन आएको छ । दलका नेताहरुका निरंकुश कार्यशैलीले उत्पन्न गरेको निराशा आक्रोशमा पुगेर समयअघि नै निर्वाचन हुन लागेको हो । दलहरुका कार्यशैलीबाट तिनकै कार्यकर्ता समेत असन्तुष्ट भइरहेका बेला नवपुस्ता जेन–जी बिद्रोहले राजनीतिमा परिवर्तन त ल्यायो नै मतदाताहरुलाई पनि वैकल्पिक शक्तिको खोजीमा लाग्न सचेत गराएको देखिन्छ ।

बहुदलको प्रारम्भ भएसँगै दश वर्षमै नेपाललाई स्वीटजरलेण्ड बनाउँछौं भन्ने नेताहरु कुशासनको दल–दलमा यति भासिए कि यसले आममतदातामा असन्तुष्टि र आक्रोश पैदा ग¥यो । देश ऋणको भारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार संस्थागत जस्तै छ र सारा युवाशक्ति रोजगारीको खोजीमा देश छाड्न बाध्य छन् । यसबीच पुराना र मूलधारका भनिएका दलहरु आलोपालो र गठबन्धनको सरकार बनाउने र आफ्नालाई काखी च्याप्ने खेलमै रमाएर बसे । जसका कारण तिनै दलका कार्यकर्ता र अवसरबाट वञ्चित नेता समेत आज विकल्प खोज्न बाध्य छन् । विकासका नाममा भ्रष्टाचार मौलाएको छ, राज्य संयन्त्रहरु स्वतन्त्र र निष्पक्ष हुन नसकेको आरोप लाग्दै आएको छ । ती सबै असन्तुष्टि गत भदौ २३ गतेको जेन–जी विद्रोहमा मुखरित भयो । त्यही केही घण्टाको बिद्रोहले २४ गते राष्ट्रिय सम्पदा लगायतका भौतिक संरचना ध्वस्त भए । विनाश सर्वथा अनुचित छ र हो, तर त्यसले सत्तासीन दलहरुमा चेतनाको ढोका खोलेन । यस्तो विषम् परिस्थितिमा गठन भएको नागरिक सरकार अहिले निर्वाचन मार्फत स्थिति बसाल्ने क्रममा छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन पुराना दलहरुका लागि अग्नि परीक्षा हो । त्यही चुनावले नयाँ र वैकल्पिक शक्ति हौं भन्नेहरुका लागि समेत परीक्षण गर्दैछ । विगतमा जस्तो यसपटक गठबन्धन भएको छैन त्यसकारण पनि यो चुनावले उनीहरुको हैसियत देखाउने छ । नचाहेर पनि फरक विचारकालाई मतदान गर्ने विगतको अपवित्र गठबन्धन नभएकाले मतदाताले विवेकको प्रयोग स्वतन्त्र ढंगले गर्न पाउने छन् । यसले सत्तामा पुग्न जस्तोसुकै अपवित्र गठबन्धन गर्ने विगतको परम्परा तोडिएको मात्र छैन मतदाताले आफूले रोजेको प्रतिनिधि चयन गर्ने अवसर पनि प्राप्त गरेका छन् । यस्तो अवसर जेन–जी बिद्रोहकै परिणामबाट प्राप्त भएकाले उनीहरुको भावना अनुरुप पुस्तान्तरणद्वारा नयाँ र सभ्य शासन व्यवस्था निर्माण गर्ने अवसरका रुपमा निर्वाचनलाई उपयोग गर्नुपर्छ । आजको राजनीतिक परिवेशमा आम स्वतन्त्र मतदाताले पुराना र नयाँबीचको फरक छुट्याएर देशलाई समृद्ध बनाउन सक्ने नेता चुन्नुपर्छ । जनता नै अजेय शक्ति भएकाले शक्तिको प्रयोग गर्ने अधिकार सुरक्षित गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here