
ताराप्रसाद खनालको जन्म इलाम जिल्लाको हालको देउमाई नगरपालिका–४ मा वि.सं. २००६ पुस २ गतेका दिन भएको थियो । जन्मस्थानमा नै आफ्ना पिता स्व. भीमप्रसाद खनाल तथा माता स्व. इन्द्रछाया खनालको लाडप्यार, स्याहारसुसारमा व्यतीत भएको थियो ।
बाल्यकाल व्यतीतपछि ५ वर्षको उमेरदेखि नै हालको भानुभक्त मावि (तत्कालीन प्रा.वि)मा अध्ययन कार्यारम्भ भई कक्षा ८ अध्ययन गरेपछि कक्षा ९ झापा जिल्लाको हालको कनकाई नगरपालिका अन्तर्गत रहेको आदर्श मावि घैलाडुब्बाबाट कक्षा ९ पढी सकेर परीक्षा उत्तीर्ण गरेपछि के विचार आयो र पुनः भानुभक्त मावि इलाम मंगलबारेमा नै फर्किएका हुन् ।
त्यही मंगलबारेमा कक्षा दश अध्ययन पूरा गरेर वि.सं. २०२६ सालको एलएलसी परीक्षामा सामेल भई उत्तीर्ण भएका सबै कागजात तथा प्रमाणपत्रले बताउँछ । एसएलसी परीक्षा दिइसकेपछि पुनः झापातिरै झरेर निजी अध्यापन कार्य गर्दागर्दै हालको सरस्वती मावि जामुनबारीमा निजी शिक्षकका रुपमा अध्यापन कार्यारम्भ गरेका थिए । पछि झापा जिल्लामा नयाँ शिक्षा लागू भएपछि जिल्ला शिक्षा कार्यालय झापाले उनलाई कनकाई मावि सुरुङ्गामा सरुवा गरी दियो ।
त्यस समयमा एसएलसी उत्तीर्ण शिक्षकको अभाव भएकै कारणले हो भन्ने महशुस गरी सबैको चित्त बुझाउन बाध्य हुनुपरेको थियो । नत्र त्यति भलाद्मी, मृदुभाषी कुशल शिक्षक पाउँदा कनकाई मावि सुरुङ्गाका विद्यार्थीहरु तथा अभिभावक साथै अन्य शिक्षकहरु प्रफुल्लित हुनु स्वाभाविकै थियो ।
केही समय त्यहाँ अध्यापन कार्य गरेपछि विद्यालयबाट अवैतनिक विदा लिएर धनकुटा गए, २ वर्षे आईएड (शिक्षा शास्त्र) उत्तीर्ण गरी सोही कनकाई माविमा नै आजीवन एक कुशल शिक्षकका रुपमा सेवा गरेपछि उमेरको हिसाबले ६० वर्ष पूरा गरे । स्व. ताराप्रासद खनालले निवृत्त जीवन व्यतीत गरिरहेको अवस्थामा पनि चुप लागेर बसेका थिएनन् । कहिले मानवअधिकार तथा मध्यस्थता समितिको अध्यक्ष विभिन्न पदमा र कहिले सडक आदि निर्माण कार्य गर्दागर्दै प्रजातन्त्रको स्थापनापछि उल्लेखित समितिहरु निष्क्रिय भएको हुँदा स्थानीय सरस्वती माविको सञ्चालक समितिको अध्यक्ष पद उनैले पाएका थिए ।
कार्यकुशलताका साथ सञ्चालन गरिरहेकै बेला अर्बुद जस्तो घातक रोगले समातेछ र भक्तपुरको क्यान्सर अस्पतालमा जाँचबुझ गराउँदा विभिन्न बहाना बनाउँदै पुनः बल्झन सक्ने कारण देखाएपछि भारतको राजधानी दिल्लीस्थित राजीवन गान्धी हस्पिटलमा रिफर गरिदिएछ । त्यही अपरेशन गरेको केही दिनपछि घरमा आएर विद्यालयका अध्यक्ष पद सम्हाल्दै रहेको बेला केही असजिलो भई जचाउँदा मेरुदण्डको तल्लो भागमा केही समस्या देखिएछ ।
स्थानीय बिएण्डसी हस्पिटल बिर्तामोडको पूर्वाञ्चल अस्पतालमा उपचारार्थ गरेकै समयमा सो अस्पतालका अर्बुद रोगका विशेषज्ञ डाक्टरले मेरुदण्डको माथिल्लो भाग गर्धनको छेउमा मेरुदण्डको हड्डी फुटाउन धेरै प्रयासपछि त्यहाँ देखिएको कालो दाग त निकालिदिए होला तर ज्यादै निर्मम र निर्दयी तरिकाले छिनो र मार्तलको प्रयोग गरी हड्डी फुटाएकै दिनदेखि खुट्टाको गति बन्द भएर हिँडदै भएन ।
पछि फेरि उही बिएण्डसी अस्पतालमै लगेर चार रात राखेर विदा त दियो तर अरु आफन्त चिनजातका व्यक्तिले डाक्टरसँग सम्पर्क गर्दा आफ्नै कुरा माथि पारेकाले क्याविनमा राखेर घरमा ल्याएपछि उसले दिएको औषधि सेवन गर्दा पनि दिन–प्रतिदिन अवस्था गम्भीर हुँदै गएर आखिरमा मिति २०८२ माघ ८ गतेका दिन दिनको ११ः४० मिनेट जाँदा भाइ ताराप्रसादले यो संसारबाट सधैँका लागि विदा लिए ।
हामी आफन्त, सम्पूर्ण खनाल परिवार शोकमग्न भएका छौं । उनको आत्माको शान्तिपूर्वक सायुज्यमा बस्ने अवसर पाओस् भन्ने हाम्रो कामनाका साथ श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै आफन्तजनलाई धैर्यधारण गर्ने शक्ति पनि उनै सर्वव्यापी भगवान नारायणबाट प्राप्त होस् ।
प्रस्तुति : दाजु देवीप्रसाद खनाल































