झापा । झापामा महिला प्रहरीका रूपमा पहिलो पटक जिल्ला प्रहरीको कमाण्ड सम्हाल्न आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने बताएकी छन्।
मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी खड्काले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना तयार गरिएको जानकारी दिइन्। उनका अनुसार खुला सीमा नाका, तस्करी, लागूऔषध ओसारपसारलगायत संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ प्रहरी परिचालन गरिनेछ।
एसपी खड्का झापाकी ४६ औं प्रहरी उपरीक्षक हुन्। यसअघिका एसपी राजन लिम्बू काठमाडौं सरुवा भएपछि उनले झापाको कमाण्ड सम्हालेकी हुन्। उनले चुनावी अवधिभर जिल्लाका गाउँ–गाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिने र प्रत्येक गतिविधि सूक्ष्म ढंगले निगरानी गरिने बताइन्।
“उम्मेदवारलाई धम्की आएको खण्डमा वा शंकास्पद गतिविधि देखिएमा सादा पोशाकमै प्रहरी खटाइनेछ,” उनले भनिन्, “कुनै पनि किसिमको अवाञ्छित घटना हुन नदिने हाम्रो स्पष्ट लक्ष्य हो।”
जिल्लामा हाल करिब १२ सय प्रहरी कार्यरत छन् भने आवश्यकता अनुसार थप जनशक्ति पनि माग गरिएको उनले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँग समन्वय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले आ–आफ्नो तहबाट चुनाव लक्षित सुरक्षा योजना कार्यान्वयन गरिरहेको एसपी खड्काको भनाइ छ।
यसैबीच, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हराइरहेका १६ नाल बन्दुक र फरार थुनुवाको खोजी कार्यलाई पनि तीव्र बनाइएको उनले बताइन्। “लाइसेन्स बाहेकका हराएका हतियार र फरार थुनुवाबाट चुनावमा कुनै पनि प्रकारको जोखिम उत्पन्न हुन नदिनेमा प्रहरी सजग छ,” उनले स्पष्ट पारिन्।
खुला सीमा नाकाबाट हुने चोरी पैठारी, लागूऔषध कारोबार र विभिन्न प्रकारका तस्करी नियन्त्रण गर्न विशेष निगरानी बढाइने पनि उनको दाबी छ।
एसपी भएपछि तेस्रो जिल्लाको कमाण्ड सम्हाल्न झापा आइपुगेकी खड्काले शान्ति सुरक्षा, कानून कार्यान्वयन र जनताको भरोसा जित्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन्।
पत्रकार सम्मेलनको सहजीकरण झापा प्रहरीका डीएसपी एवं प्रवक्ता खगेन्द्रकुमार खड्काले गरेका थिए।






























