काठमाडौँ,

“यो मान्छेले केही गर्ला जस्तो छ भन्ने लाग्छ छ भने मलाई भोट दिनुस् । के गर्ला जस्तो लागेन भने भोट नदिए पनि हुन्छ । म मलाई भोट दिनुस्, जितेपछि यसो गर्दिन्छु, उसो गर्दिन्छु भनेर लम्पसार चाहीँ पर्दिनँ । तर काम गर्न छोड्दिनँ,” आशन्न प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले यस्तै प्रकारले मतदातामाझ आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका यस्ता प्रस्तुति र शैलीहरू आफैले सामाजिक सञ्जालमा नियमित सम्प्रेषण गरिरहनुभएको छ ।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले चुनाव प्रचारकै क्रममा कहिले सार्वजनिकस्थलमा पत्रकार सम्मेलन, कहिले नदीमा आफैँले माछा मार्दै गरेका दृष्य र कहिले हिमाली क्षेत्रको भिडियोहरू सार्वजनिक गर्दै आउनुभएको छ । त्यसो त, उहाँको उम्मेदवारी दर्ता नै अचानाक जस्तो भएको देखिएको थियो ।
चुनाव गराउने जिम्मेवारीमा रहेको सरकारका मन्त्रीबाट राजीनामा दिएर चुनावमा प्रतिस्पर्धी भएको विषयमा उहाँमाथि आलोचना भयो । ‘शिक्षा सुधारका लागि तयार गरिएका अध्यादेशहरू’ ल्याउन नसकेकाले मन्त्रीबाट हटेको बताउने पुनले सरकारबाट भागेको भन्ने आलोचनालाई स्वीकार्दै आफू मैदानमा रहेको जनाउँदै आउनुभएको छ । पुनले मतदातासँग पुगेर आफ्नो पुस्तक बेचेको विषयमा निर्वाचन आयोगका उजुरी परेपछि उहाँले त्यो कामलाई स्थगन गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार अच्युत लामिछानेले मतदाताको पुगेर खुट्टामै ढोगेको र मतदाताले खुट्टा हटाउन खोज्दा लामिछानेको निधार भुइँमै परेको दृष्य सार्वजकि भयो । मतदातासमक्ष विनयी र नजिक हुनु उम्मेदवारको परिचय असल परिचय हो तर बढी भयो कि भन्ने टिप्पणीहरू पनि आए । उम्मेदवार लामिछानेले ‘नेपालीको असल संस्कारलाई कायम राख्न’ त्यसरी प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो ।
नेपाल कांग्रेसका बझाङका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनावी यात्राका क्रममा बझाङको माटो टेकेपछि भुइँमा ढोगेर जिल्लाको ममता प्रदर्शन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेछापका उम्मेदवार माधव ढुङ्गेलले मतदाताको घरमा पुगेर मोही पार्दै गरेको दृष्य चर्चामा आएको छ । आमजनता पार्टीबाट रौताहट क्षेत्र नं ४ का उम्मेदवार ऋषि धमलाले मतदातामाझ पुगेर उखु बोकेको, जेरी पकाएको र ट्याक्टरमा बसेर बोलेका दृष्य सार्वजनिक भए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय र नियमित चासोका रूपमा हेरिएका उम्मेदवारहरू झापा क्षेत्र नं ५ का एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह तथा सर्लाही क्षेत्र नं ४ उम्मेदवार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका डा अमरेश सिंहका राजनीतिक गतिविधि आमरूपमा स्थान पाएका छन् ।
रुकुमपूर्वमा उम्मेदवार रहनुभएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो चरणमा जिल्ला घुमेर हाल काठमाडौँमा रहनुभएको छ । एमाले अध्यक्ष ओली झापाको करिब एक साता बसेर हाल भक्तपुरमा हुनुहुन्छ भने नेता बालेन पूर्वी पहाडी जिल्लाबाट फर्किएर अहिले सुदुरपश्चिमका पहाडी जिल्लामा पुग्नुभएको छ ।
निर्वाचनकै क्रममा बाँके क्षेत्र नं. ३ का उम्मेदवार रहेका रास्वपका खगेन्द्र सुनारको धार्मिक संवेदनशीलतासम्बन्धी पुरानो अभिव्यक्तिलाई अहिले विवादमा ल्याइएको छ । उम्मेदवार सुनाले आफूले त्यसरूपमा नबोलेको प्रतिक्रिया दिए उहाँमाथि हिन्दू धर्ममा आस्था राख्नेहरूले आलोचना गर्न थालेका छन् ।
प्रचार शेली आआफ्नै देखिए निर्वाचनका लागि यही माघ ६ गते भएको उम्मेदवारीको मनोनयनपत्र दर्तायता राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ को गम्भीर उल्लङ्घन गरेको भने पाइएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसबीचमा १५ व्यक्ति र संस्थालाई आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टिकरण सोधिएको र आचारसंहिता अनुगमनका लागि संयन्त्र बनाएको बताउनुभयो ।
आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय तुल्याउन जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएकोे छ । तोकिएका आचारसंहिता अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार र विभिन्न पक्षबाट हुन सक्ने उल्लङ्घका विषयलाई जानकारीमा राखी कारबाहीका लागि सिफारिस गर्न सक्नेछ ।


























