‘झापा गोल्डकपलाई प्रतियोगिताबाट फुटबल प्रणालीतर्फ लैजान चाहन्छु’

0
1

 

बिनोद बस्नेत स्मृति सातौं संस्करणको झापा गोल्डकप माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा आयोजना हुँदैछ । यस संस्करणलाई विशेष बनाएको छ । अध्यक्ष केदार गिरीको नेतृत्वमा पहिलो पटक प्रतियोगिता आयोजना हुँदैछ । झापा गोल्डकपलाई लिएर उठ्दै आएका आलोचना, अपेक्षा र भविष्यको योजनाबारे अध्यक्ष गिरीसँग पूर्वाञ्चलकर्मी बिनोद पाण्डेले लिएकोे अन्तरवार्ताको सम्पादित अंश :

अध्यक्ष भएर पहिलो पटक गोल्डकप गर्दै हुनुहुन्छ । यो अघिल्ला संस्करणको निरन्तरता हो कि नयाँ दिशा ?

– झापा गोल्डकपको पहिचान र परम्परा निरन्तरता हो, तर व्यवस्थापन र सोचमा परिवर्तन आवश्यक थियो । यो संस्करणमा हामीले पारदर्शिता, स्थानीय सहभागिता र दीर्घकालीन फुटबल विकासलाई केन्द्रमा राखेका छौं । परिवर्तन एकैपटक देखिँदैन, तर दिशा परिवर्तन भइसकेको छ ।

‘जनताको उत्सव’ भनिए पनि जनउत्साह अपेक्षाकृत कम देखिएको टिप्पणी हुने गरेको छ नि ?

– अत्यन्त सान्दन्र्भिक प्रश्न गर्नुभयो । यसलाई आंशिक रूपमा स्वीकार्छु । समग्र खेल वातावरण, आर्थिक अवस्था र प्रचारको पहुँचले असर पारेको छ । तर यसलाई बहानाका रूपमा लिँदैनौँ । अब खेलप्रेमी, विद्यालय, कलेज र स्थानीय क्लब केन्द्रित अभियान बढाउँछौँ ।

गोल्डकपबाट भएको आर्थिक आम्दानी झापाकै फुटबल विकासमा कति खर्च हुन्छ ?

– यो संस्करणपछि कम्तीमा ४० प्रतिशत रकम झापाकै फुटबल विकासमा लगानी गर्ने योजना छ । युवा प्रशिक्षण, स्थानीय लिग र क्लव सुदृढीकरण हाम्रो प्राथमिकता हो ।

आर्थिक पारदर्शिताबारे उठ्ने प्रश्नमा सार्वजनिक अडिट सम्भव छ ?

– निश्चय नै । प्रतियोगिता सम्पन्न भएपछि स्वतन्त्र अडिटरमार्फत अडिट गरी सार्वजनिक गर्ने प्रतिबद्धता गर्छु । झापा गोल्डकप कुनै व्यक्तिको होइन, सामुहिक संस्था हो ।

स्थानीय सरकारको साथ किन दीर्घकालीन पूर्वाधारमा रूपान्तरण हुन सकेन ?

– सहयोग आएको छ, तर निरन्तरता र दीर्घकालीन सम्झौता अभाव थियो । अब पालिकासँग बहुवर्षीय पूर्वाधार सहकार्य मोडेलमा अघि बढ्दैछौं ।

निर्णय प्रक्रिया केही सीमित व्यक्तिमा केन्द्रित भएको आरोप लाग्छ नि ?

– विगतमा कमजोरी भएको हुन सक्छ । अहिले हामीले उप–समिति प्रणाली लागू गरेका छौं । निर्णय प्रक्रिया संस्थागत बनाउने प्रयासमा छौं । विगतका कमजोरीलाई सुधार गरेर लैजाने छौं ।

तपाईं अध्यक्ष हुँदा पनि पुरानै व्यवस्थापनशैली दोहोरिएको आलोचना छ नि ?

– अनुभव भएका व्यक्तिहरू दोहोरिएका हुन्, तर संरचना नयाँ छ । अनुभव र सुधारको सन्तुलन बिना संस्था अघि बढ्दैन ।

बाहिरी टिमलाई प्राथमिकता, स्थानीयलाई बेवास्ता गरिएको आरोपबारे के भन्नुहुन्छ ?

– अबदेखि स्थानीय खेलाडी सहभागितालाई न्यूनतम ५० प्रतिशत सुनिश्चित गर्ने नीति बनाइएको छ । झापाली खेलाडी बिना झापा गोल्डकप सम्भव छैन ।

वर्षौंसम्म पनि झापाबाट राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन सीमित हुनु असफलता होइन ?

– केबल प्रतियोगिताले खेलाडी उत्पादन हुँदैन । त्यसैले गोल्डकपलाई विकास कार्यक्रमसँग जोड्दैछौं । अण्डर–१७ र अण्डर–१९ कार्यक्रम यही वर्षबाट शुरु हुँदैछन् ।

कार्यकाल सकिँदा झापालीले ‘अध्यक्ष फेरिएपछि गोल्डकप बदलियो’ भन्न सक्ने एउटै आधार के छ ?

– यदि झापाली युवाले गोल्डकपलाई आफ्नो भविष्यको बाटो देख्न थाले, त्यही मेरो सफलता हुनेछ । मेरो नाम होइन, झापाको फुटबल प्रणाली बलियो बनोस् भन्ने चाहना हो । त्यसैले झापा गोल्डकप प्रतियोगिता होइन प्रणालीतर्फ अगाडि बढ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here