झापा । वीरता जेसीजले प्रदान गर्ने दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघ–संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको छ । विभिन्न सामाजिक, व्यवसायिक तथा संस्थागत गतिविधिमा निरन्तर सक्रिय रहँदै समन्वयकारी भूमिका निर्वाह गरेबापत भण्डारी उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।
कर तथा परामर्श सेवा सञ्चालक रहेका भण्डारी झापा गोल्डकपका कार्यकारी सदस्य, कर सहयोगी संघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी समाज बिर्तामोडका सदस्यसमेत हुन् । उनी लामो समयदेखि व्यवसायिक क्षेत्र र सामाजिक संस्थाबीच सेतुको भूमिका निर्वाह गर्दै आएका छन् ।
वीरता जेसीजको ४५औँ पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा पुरस्कार संस्थापक बसन्त रिमालले भण्डारीलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका थिए । पुरस्कार घोषणाका क्रममा रिमालले भण्डारीले देखाएको नेतृत्व, समन्वय क्षमता र सामाजिक उत्तरदायित्वलाई उदाहरणीय रहेको बताए ।
समारोह वीरता जेसीज सन २०२५ का अध्यक्ष युवराज कुँवरको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वर्ष २०२६ का लागि लोकचन्द्र श्रेष्ठ एलसी को अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको छ ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै भण्डारीले वीरता जेसीजले दिएको जिम्मेवारी र सम्मानले सामाजिक तथा संस्थागत क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने ऊर्जा थपिएको बताए । उनले आगामी दिनमा पनि व्यवसायिक दक्षता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत, पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रमुख अतिथि जीवन कार्कीलगायतले शुभकामना मन्तव्य राख्दै जेसीज अभियानले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।
कार्यक्रममा जेसीज अभियन्ता, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





























