काठमाडौँ,

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती सुरु गरेको छ ।
जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
“लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौँ”, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भन्नुभयो । त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उहाँको भनाइ छ ।
प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिनुभयो । “संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौँ ।”
प्रमुखथापाले निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना सङ्कलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पार्नुभयो ।





























