व्यक्तिगत वा पारिवारिक स्वार्थ त्यागेर समाज, राष्ट्र, देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सदा सम्मानित हुन्छन् । यस्ता मानिस थोरै हुन्छन् र हरेक देशमा ती महान व्यक्तिको सम्मान विशेष ढंगले गरिन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक वा राजनीतिक परिवर्तन तथा स्वतन्त्रता, प्रजातन्त्र प्राप्तिका लागि हाँसी–हाँसी जीवन अर्पण गर्नेहरु शहीद हुन् । नेपालमा पनि त्यस्ता महान व्यक्तित्वहरु थिए जसले निरंकुश राणा शासनबिरुद्ध संघर्ष गरे र मृत्युवरणसम्मको सजाय सहजै र हाँसेरै गरे । तिनै शहीदहरु शुक्रराज शास्त्री, दरथ चन्द, गंगालाल र धर्मभक्तको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै हरेक वर्ष शहीद दिवस मनाइन्छ ।

हाम्रा प्रातः स्मरणीय महामानव शहीदहरुले प्रजातन्त्र स्थापना, पुनः स्थापना र स्वतन्त्रताका लागि प्राणको आहुति दिएको दिनको सम्झना र सम्मानमा सप्ताहव्यापी कार्यक्रमका साथ शहीद दिवस मनाइँदै आइएको छ । प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा माघ १० गतेदेखि १६ गतेसम्म ती महापुरुषलाई रुखमा झुण्ड्याएर र गोली हानेर राणा शासकले मृत्युदण्ड दिएको थियो । त्यही दिनको र घटनाको सम्मान र स्मरणमा मृत्युदण्ड दिइएको स्थानहरु पचली, सिफल र शोभाभगवतीमा अलग–अलग कार्यक्रम गर्दै मनाइने शहीद सप्ताहको आज अन्तिम दिन हो ।
देश र जनताको कल्याण, प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिको लडाइँमा झुण्डिन र गोली थाप्न तयार शहीदहरुको अवमूल्यन हुन थालेको छ । नक्कली शहीदको लामो सूचिले सच्चा शहीदहरु ओझेलमा पारिँदैछन् । विश्वमा अन्त कतै नभएको शहीदहरुको फेहरिस्तले राणा शासनबिरुद्धको आन्दोलनमा जानाजान र हाँसी–हाँसी प्राणको आहुति दिनेहरु राष्ट्रका गौरव हुन् । विभिन्न कालखण्डमा भिन्न–भिन्न घटनामा मारिनेहरुलाई पनि त्यही कोटीमा राख्नु प्रथम शहीद लखन थापा लगायतका शहीदहरुको अपमान हो ।
शहीदहरुको बलिदानको मूल्य एक थुंगा फूल चढाएर अथवा एक मिनेट मौनधारण गरेर वा भाषण गरेर मात्र तिर्न सकिन्न । उनीहरुको सपनाको पूर्णता बिना उनीहरुप्रति सम्मान हुँदैन । शहीदका सपना पूरा गर्न विभाजित भएर होइन देश र जनताको हित र कल्याणमा संगठीत भएर लाग्नु पर्दछ । यसको नेतृत्व, सरकार र राजनीतिक दलहरुले आफ्नो हठ, दलीय स्वार्थ र दम्भ त्यागेर शहीदले देखाएको बाटोमा हिँड्ने आँट गर्नुपर्छ । त्यसरी मात्र देश र जनताको हित हुन्छ, शहीदहरुका सपना पनि पूरा हुन्छन्, शहीदको सम्मान र दिवसको सार्थकता रहन्छ ।



























