झापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ आज झापा आइपुगेका छन् । साँझ करिब ५ बजे यति एयरलाइन्सको नियमित उडानमार्फत उनी चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हुन् ।
उनको आगमनसँगै विमानस्थल परिसरमा समर्थक, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो । केहीले स्वागतका लागि फूलमाला बोकेका थिए भने केहीले नजिकबाट नेता बालेनलाई देख्ने चाहना व्यक्त गरेका थिए । छोटो समयमै विमानस्थल क्षेत्रमा चहलपहल बढेको थियो ।
चन्द्रगढी विमानस्थलबाट बालेन सिधै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने दमकतर्फ प्रस्थान गरेका छन् । उनको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बालेनको आवागमन शान्तिपूर्ण र सामान्य रह्यो ।
सोही उडानमार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापा आएका छन् । दुई फरक राजनीतिक धारका शीर्ष नेताहरू एउटै जहाजमा झापा आइपुग्नुले राजनीतिक वृत्तमा चासो थपिएको छ ।
विमानस्थलमा दुवै नेता हास्तै हात मिलाउँदै छुट्टिएको दृष्यले अझ चासो थपिएको थियो । लिङ्देन झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार समेत हुन् ।
बालेनको झापा आगमनलाई आगामी राजनीतिक गतिविधि, पार्टी संगठन सुदृढीकरण तथा स्थानीयस्तरको भेटघाटसँग जोडेर हेरिएको छ । यद्यपि उनको झापामा बसाइ तथा कार्यक्रमबारे औपचारिक विवरण सार्वजनिक भइसकेको छैन । राजनीतिक चासो र प्रतीक्षाबीच बालेनको उपस्थितिले झापाको राजनीतिक माहोल ततिएको देखिन्छ ।































