टुटेको जनविश्वास जोड्ने तागत कांग्रेसमा मात्रै छ : उपसभापति शर्मा

0
20

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछिको असन्तोष र टुटेको जनविश्वास पुनः जोड्ने सामर्थ्य नेपाली कांग्रेसमा मात्रै रहेको दाबी गरेका छन्। फरक विचार र परिवर्तनका आकांक्षालाई स्वीकार गर्दै लोकतान्त्रिक मूल्यका आधारमा अघि बढ्न सक्ने पार्टी कांग्रेस मात्र भएको उनले बताए।

नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर–२ को चुनाव प्रचार समितिले आज अपरान्ह बिर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै शर्माले जेनजीले उठाएका मागलाई जिम्मेवार ढंगले सम्बोधन गर्ने क्षमता कांग्रेससँग रहेको उल्लेख गरे। २००७ सालको राजनीतिक परिवर्तनदेखि संविधान घोषणा हुँदासम्म कांग्रेसले देशको नेतृत्व गर्दै आएको उदाहरण प्रस्तुत गर्दै उनले पार्टी परिवर्तनमार्फत देश परिवर्तन गर्ने संकल्पसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको बताए।

“कांग्रेस आफैं बद्लिएर नेतृत्व र नीतिमा परिवर्तन गर्दै निर्वाचनमा होमिएको छ,” शर्माले भने, “हामी नारामात्र बोकेर आएका छैनौं, देशका दुर्गमदेखि सुगम क्षेत्रसम्म घुमेर विकासका स्पष्ट योजनासहित आएका छौं।”

विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै उनले पार्टीभित्र परिवर्तन चाहने र नचाहने भन्ने बहस निरर्थक रहेको भन्दै सबै कार्यकर्तालाई एकढिक्का भएर मतपरिणाम आफ्नो पक्षमा पार्ने अभियानमा लाग्न आग्रह गरे।

पार्टीले अघि सारेका प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार गगनकुमार थापा अन्य आकांक्षीभन्दा हरेक हिसाबले सक्षम रहेको दाबी गर्दै शर्माले नेतृत्व परिवर्तन गर्न नसक्नेले देश परिवर्तन गर्न नसक्ने स्पष्ट पारे। “पार्टीमा पाहुना बनेर नेतृत्व गर्न खोज्नेले परिवर्तनको भरोसा दिन सक्दैन,” उनले भने।

उपसभापति शर्माले यसपटक कांग्रेसले १०६ निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको र महिला उम्मेदवारको संख्या विगतको तुलनामा दोब्बर बनाइएकाले संगठनमा नयाँ उत्साह देखिएको बताए। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते सरकारबाट र २४ गते जेनजीको नाममा घुसपैठ भएर भएका अप्रिय घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उनको भनाइ थियो।

oplus_0

oplus_0

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीमा आएको परिवर्तन अब जनताले महसुस गर्ने चरणमा पुगेको बताए। उम्मेदवार छनोटमा देखिएको परिपक्वताले चाहँदा पार्टीभित्र र व्यक्तिभित्र परिवर्तन सम्भव हुने सन्देश दिएको उनले बताए।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले नेतृत्व परिवर्तनसँगै गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिँदा मतदातामा उत्साह बढेको उल्लेख गर्दै निर्वाचनपछि कांग्रेस पहिलो दलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

झापा क्षेत्र नम्बर–२ की उम्मेदवार सरिता प्रसाईंले संविधानसभा निर्वाचनदेखि हालसम्म आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेको दाबी गरिन्। संविधानमार्फत ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको, आमाको नामबाट नागरिकता पाउने कानुन बनेको तथा भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था गरिएको उल्लेख गर्दै कृषि राज्यमन्त्री हुँदा झापामा सुपारी जोन र रबर जोन कार्यक्रम सुरु गरिएको जानकारी दिइन्। अलैँची खेती प्रवर्द्धनका लागि रणनीति तयार पार्दै गर्दा सरकारबाट हट्नुपरेको उनको भनाइ थियो।

उनले शिक्षा नीति, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई सरकार गठनका लागि सुविधायुक्त बहुमत दिन मतदातासँग अपिल गरिन्।

समानुपातिक उम्मेदवार उमा शिवाकोटीले सबैको भावना समेटेर काम गर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गरिन्। अर्की समानुपातिक उम्मेदवार मनुमाया विश्वकर्माले परिवर्तनको गतिलाई रोक्न नसकिने भन्दै परिवर्तित कांग्रेसप्रति जनविश्वास बढ्ने धारणा राखिन्।

कार्यक्रममा झापा क्षेत्र नम्बर–२ का सभापति खगेन्द्र मैनालीले निर्वाचन परिचालन र प्रचार–प्रसारका गतिविधिबारे जानकारी गराएका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेश सुब्बा, झापा कार्यबाहक सभापति शेरबहादुर भट्टराईसहित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रीय तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव चन्द्र चुडालले गरेका थिए भने “हेर न शहीदहरूलाई” बोलको गीत सन्तोष रायमाझीले प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here