अन्तरपालिका यु–१८ फुटबल प्रतियोगिताको उपाधि बुद्धशान्तिलाई

0
16

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को उपाधि बुद्धशान्ति गाँउपालिकाले जितेको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा सोमबार सम्पन्न फाइनलमा मेचीनगर नगरपालिकालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि जितेको हो । निर्धारीत समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछी खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । जितसँगै विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्दिप लिम्बू(बुद्धशान्ति), उत्कृष्ट गोलरक्षक र फाइनल खेलका उत्कृष्ट खेलाडी रिजन ल्वागुन(बुद्धशान्ति), उत्कृष्ट रक्षक अनिल गिरी (बुद्धशान्ति), उत्कृष्ट मिडफिल्डर सुरज लिम्बू(बुद्धशान्ति), उत्कृष्ट फरवार्ड नयन प्रधान (मेचीनगर), उत्कृष्ट प्रशिक्षक सन्तोष बस्नेत(बुद्धशान्ति) भएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, विभिन्न विधागत उत्कृष्ट खेलाडी र फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार क्रमश आठ हजार, पाँच हजार र दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै वर्ष खेलाडी २०८१ बाट आयोजक शनिश्चरे फुटबल क्लबका दिपेश धिमाललाई एक थान साइकल(माउन्टेन बाइक) प्रदान गरिएको थियो । उक्त साइकल स्थानीय रुपरत्न मेमोरीयल बोर्डिङ स्कूलले सौजन्य गरेको हो ।

आयोजक क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष मनोज प्रसाईं, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष मिलन बस्नेत, स्थानीय बिल्डकन इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष भीमचन्द्र भट्टराईलगायतले उक्त पुरस्कारहरु वितरण गरेका थिए ।

सोही कार्यक्रममा बिर्तामोडस्थित मेची आँखा अस्पताल, रुपरत्न मेमोरियल बोर्डिङ स्कूल, डेनिम एण्ड डेभिल्स, समाज उद्धार कल्याण संघ, शनिश्चरे प्रहरी चौकी, शनिश्चरे अस्थायी ट्राफिक प्रहरी बिटलगायतका संस्था एवम् दाताहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

फाइनल खेलको उद्घाटन कार्यक्रममा रुपरत्न मेमोरियल बोर्डिङ स्कूलका विद्यार्थीहरुले म्यूजिकल ड्रिल, अर्जुनधारा–८ स्थित एवान डान्स एकाडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । खेल संयोजक तिलिङले प्रतियोगिताको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपक ढुंगानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here