डोमालाल राजवंशीको योगदान स्मरण गर्दै झापा गोल्डकप:रंगशालामा माघ २४ गते सालिक अनावरण

0
31

झापा, झापाको खेलकुद इतिहाससँग जोडिएका जग्गादाता डोमालाल राजवंशीको योगदानलाई सार्वजनिक रूपमा स्मरण गर्ने तयारी गरिएको छ ।
सातौँ झापा गोल्डकपको उद्घाटन समारोहका अवसरमा डोमालाल राजवंशी रंगशालामा उनको अर्धकदको सालिक अनावरण गरिने भएको हो । 
करिब दुई वर्षदेखि गोल्डकप सचिवालयमा राखिएको सालिक माघ २४ गते उद्घाटन समारोहकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ । तत्कालीन गोल्डकप अध्यक्ष स्वर्गीय विनोद बस्नेतको पहलमा भारतमा निर्माण गराई ल्याइएको सालिक बस्नेतको निधनपछि स्थापित हुन नसकी अलपत्र अवस्थामा थियो ।
सालिक स्थापना र डोमालाल राजवंशीकी विपन्न छोरी सम्पत्ति राजवंशीको आवास निर्माणसम्बन्धी योजना अघि नबढ्दा राजवंशी समुदायले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । सोही विषयलाई लिएर सोमबार झापा गोल्डकप समितिका पदाधिकारी, सञ्चारकर्मी तथा राजवंशी समुदायका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी , वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी , मोरङका जिल्ला सचिव रुपेश राजवंशी सहभागी थिए ।
छलफलमा जग्गा विवादका कारण रंगशाला स्थानान्तरणको सम्भावना रहेकाले स्थायी संरचना तत्काल बनाउन कठिन भएको निष्कर्ष निकालिएको छ । त्यसैले हालका लागि अस्थायी रूपमा सालिक अनावरण गरी समुदायको भावनालाई सम्बोधन गर्ने सहमति भएको बताइएको छ । सालिक उद्घाटन समारोहको मञ्च अगाडिपट्टि राखिनेछ ।
गोल्डकप अध्यक्ष केदार गिरीले जग्गाको टुंगो लागेपछि सालिकलाई स्थायी र दीगो रूपमा पुनःस्थापना गरिने जानकारी दिए । उनले अस्थायी रूपमा राख्दा पछि भत्काउनुपर्ने अवस्था नआओस् भन्ने चिन्ताका कारण यसअघि सालिक स्थापना ढिलाइ भएको स्पष्ट पारेका थिए ।
त्यस्तै, पूर्व अध्यक्ष स्वर्गीय बस्नेतको योजनाअनुसार गोल्डकप सकिएपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर निर्माण कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले बताए । बस्नेतले सामाजिक सञ्जालमार्फत सुरु गरेको आर्थिक संकलन अभियानलाई निरन्तरता दिने तयारी गरिएको छ ।
जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे ।
यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।

डोमालाल राजवंशीले रंगशाला निर्माणका लागि करिब १३ बिघा जग्गा दान दिएका थिए । हाल उनकी छोरी सम्पत्ति तथा नातिहरू भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रोमा बसोबास गर्दै मजदुरी गरेर जीवनयापन गरिरहेका छन् ।
आयोजकका अनुसार दाताको योगदान र परिवारको पीडालाई केन्द्रमा राखेर मानवीय दायित्व पूरा गर्ने प्रयास जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here