कोलबोटेमा तीन दिने घरेलु साबुन बनाउने तालिम

0
20

मोरङ,

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं-१ अन्तर्गतको पहाडी बस्ती कोलबोटेमा तीन दिने घरेलु सर्फ, हर्बल फिनेल तथा तितेपातीको साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्रोतको उपयोग गर्दै आत्मनिर्भरता र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको तालिमले सहभागीहरूमा नयाँ आशा र आत्मविश्वास थपेको छ।

प्रगति महिला समाज सुन्दरहरैंचाको प्राविधिक सहयोग तथा वडा नं.–१ को आर्थिक सहयोगमा सम्पन्न तालिममा २५ देखि ३० जना महिला तथा पुरुषको उत्साहजनक सहभागिता रहेको थियो। ज्यामिरे, कोलबोटे र गुर्दुम डाँडाका स्थानीयहरू तालिममा सहभागी भएका थिए।

विशेषगरी गुर्दुम डाँडाबाट तीन घण्टाको कठिन पैदल यात्रा गर्दै सहभागीहरू तालिम लिन उपस्थित भएको तथ्यले उनीहरूको सिकाइप्रतिको लगाव र इच्छाशक्तिलाई स्पष्ट झल्काएको छ। तालिमपछि प्रतिक्रिया दिँदै सहभागी लोकबहादुर श्रेष्ठले भने, “अब घरमै सरसफाइका सामग्री उत्पादन गर्न सक्ने भएको छु, यो तालिम हाम्रो दैनिक जीवन र आयआर्जन दुवैका लागि अत्यन्त उपयोगी छ।”

तालिममा सहभागी वडा सदस्य टंक राईले सिकेको सीपलाई व्यक्तिगत सीमाभन्दा माथि उठाएर सामूहिक रूपमा प्रयोग गर्दै व्यवसायिक रूपमा अघि बढ्ने योजना रहेको जानकारी दिए। तालिम प्रदायक संस्था प्रगति महिला समाजकी अध्यक्ष तथा प्रशिक्षक पार्वती गच्छदारले सहभागीहरूको सक्रिय सहभागिता, जिज्ञासा र मेहनतका कारण तालिम उपलब्धिमूलक बनेको बताइन्।

वडा नं.–१ का अध्यक्ष पर्वत राईले स्थानीय क्षेत्रमा प्रशस्त मात्रामा पाइने तितेपाती जस्ता जडीबुटीको सदुपयोग गरी साबुन उत्पादनलाई व्यवसायिक रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमले दुर्गम पहाडी क्षेत्रको आर्थिक रूपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। स्थानीय तहबाट निरन्तर सहयोग र प्रोत्साहन प्राप्त भए यस्ता घरेलु उद्योगमार्फत गाउँमै रोजगारी सिर्जना गर्न सकिने अपेक्षा सहभागीहरूले गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here