योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि कमल खनालले छोटो समयमै संगठनलाई गतिशील र परिणाममुखी बनाएका छन्। सीमित समयभित्रै उनले शिक्षा, संगठन सुदृढीकरण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै प्रभावशाली कार्यक्रमहरू अघि बढाएका छन्।
कार्यवाहक अध्यक्ष खनालको नेतृत्वमा कोशी प्रदेशस्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रतियोगिताले विद्यार्थीको अभिव्यक्ति क्षमता, सिर्जनशीलता र लेखन सीप विकासमा टेवा पुर्याएको सरोकारवालाहरूले बताएका छन्। प्रदेशभरका विद्यार्थी सहभागी भएपछि शैक्षिक प्रतिस्पर्धाको सकारात्मक वातावरण समेत बनेको छ।
त्यसैगरी, नेशनल प्याब्सन कोशी प्रदेशको प्रथम विस्तारित बैठक सम्पन्न गर्दै संगठनलाई नीतिगत र संरचनागत रूपमा थप मजबुत बनाइएको छ। बैठकमा प्रदेशभित्रका सदस्य विद्यालय, जिल्ला प्रतिनिधि तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले संगठनको भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
विद्यालय शिक्षामा प्रत्यक्ष देखिने परिवर्तन ल्याउने उद्देश्यसहित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको छ। शिक्षक र विद्यालय नेतृत्वलाई लक्षित यस प्रशिक्षण कार्यक्रमले कक्षाकोठा शिक्षण पद्धति, व्यवस्थापन सुधार र विद्यार्थी केन्द्रित सिकाइमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ छ।
यसैबीच, शिक्षा क्षेत्रका शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेशनल प्याब्सन कोशी प्रदेश र नोबेल मेडिकल कलेजबीच सहुलियत उपचारसम्बन्धी सम्झौता गरिएको छ। सम्झौताले सदस्य विद्यालयका परिवारलाई उपचार खर्चमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
कार्यवाहक अध्यक्ष कमल खनालले शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास र सदस्य विद्यालयको हित नै आफ्नो प्राथमिकता रहेको बताए। “छोटो समय भए पनि संगठनलाई परिणाम दिने दिशामा लैजान प्रयास गरेका छौँ,” उनले भने।
कमल खनालको नेतृत्वमा देखिएको सक्रियता र पहलले नेशनल प्याब्सन कोशी प्रदेशलाई अझ सशक्त, विश्वसनीय र प्रभावकारी संस्थाको रूपमा स्थापित गर्ने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्।































