झापा, प्रेस चौतारी नेपाल झापाले २८ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संगठनका पूर्व अध्यक्षलाई अभिनन्दन र अर्का एक जना पक्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ ।
प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य एवम् प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी झापाका पूर्वअध्यक्ष गणेश पोखरेललाई अभिनन्दन गरिएको थियो भने पत्रकार सन्तोष शर्मालाई लेखनवृत्ति प्रदान गरिएको थियो । पूर्व अध्यक्ष पोखरेललाई नगद रु २५ हजार, सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो ।
यस्तै, स्थापना दिवस एवम् वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार राससकर्मी पत्रकार सन्तोष शर्मालाई प्रदान गरिएको थियो ।
चौतारी झापाले ६–६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद रु ५ हजारसहित लेखनवृत्ति प्रदान गरिएको हो ।
२८ औं स्थापना दिवसमा झापा शाखाका अध्यक्ष परियारले एक वर्षमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष परियारले पत्रकारिता तालिम, अन्तरसंवाद, अग्रजलाई सुनौं कार्यक्रम, सम्पादकसँग चौतारी, पत्रकारितामा एआईको प्रयोग लगायत दुई दर्जन कार्यक्रम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् ।
संगठनका कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्वअध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनाली र पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।































